बुधबार राष्ट्रियसभा निर्वाचन, तयारी पूरा

बुधबार राष्ट्रियसभा निर्वाचन, तयारी पूरा


काठमाडौं– बुधबार राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ।

राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा तयारी पूरा भएको र भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गत मंसिर १० र २१ गते सम्पन्न भइसकेपछि राष्ट्रियसभा ननिर्वाचन हुन लागेको हो।

प्रत्येक प्रदेशबाट कम्तीमा ३ महिला, १ दलित र १ अपांगता÷अल्पसंख्यकसहित ८ गरी निर्वाचित ५६ सदस्य रहन्छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा १ महिलासहित ३ जना गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी जम्मा १ हजार ५ सय ६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल २ हजार ५६ जना मतदाता छन्।

प्रदेश २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रदेश १ को विराटनगर, ३ को ललितपुरको पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ।

अब निर्वाचित हुन बाँकी ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।