जुवा खालको पैसा असुल्ने असई विचित्र थापा निलम्बित

जुवा खालको पैसा असुल्ने असई विचित्र थापा निलम्बित


काठमाडौं – म्हैपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) विचित्र थापा मगरलाई जुवा खालको पैसा खाएको आरोपमा निलम्बन गरिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको सिफारिसमा महानगरीय प्रहरी आयुक्त कार्यालय रानिपोखरीले उनलाई निलम्बन गरेको हो । असई थापाले चार लाख रुपैयाँ खाएको पुष्टि भएपछि निलम्बन गरिएको प्रहरीले जनाएको छ। निलम्बन गरेर अनुसन्धान सुरु गरिएको र पछि अनुसन्धान टोलीको सुझाव अनुसार कस्तो कारबाही गर्ने भन्ने टुंगो लाग्नेछ ।

असई थापा मगरको टोलीले गत सोमबार राति म्हैपीको एक घरमा जुवा खालमा छापा मारेको थियो। सो क्रममा उनले खालबाट १५ लाख रुपैयाँ बरामद गरेका थिए।
उनले जुवाडेलाई ११ लाख रुपैयाँपछि फिर्ता दिएका थिए भने ४ लाख रुपैयाँ आफैंले राखेको भन्दै दुई जुवाडे रितेश लामा र दिनेश पराजुलीले उजुरी दिएका थिए। उजुरी दिन दुवै जना जुवाडेलाई परिसरले पक्राउ गरेर जुवा ऐनअनुसार मुद्दा चलाएको छ।

असई थापाले सो आरोप स्वीकार गरेका छैनन्। उनीसँग जुवा खालमा गएका एक जवान सुशीलकुमार कार्कीले असई जुवाखालभित्र छिरेको आफू घरबाहिरै बसेको बताएका छन् ।