सुर्खेत – नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि जितेका छन् ।
आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले १ घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दूरी पार गरी उपाधि जिते ।
एपीएफकी पुष्पा १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दूरी पूरा गरी प्रथम भएकी छन् । पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत १ घण्टा ११ मिनेट ४८ सेकेन्ड, सेनाकै श्रीकस राईले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दूरी पूरा गरी दोस्रो र तेस्रो भएका छन् ।
महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे १ घण्टा ३२ मिनेट ४३ सेकेन्ड तथा जुम्लाकी राज्य रावलले १ घण्टा ३६ मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गरी दोस्रो र तेस्रो भएका छन् । शीर्ष ३ खेलाडी क्रमशः जनही ५५ हजार, ३० हजार र २० हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत भए ।
हाफ म्याराथन ४५ वर्षमाथि उमेर समूहमा काठमाण्डुका धर्म महर्जन १ घण्टा २२ मिनेट, काठमाण्डुकै रेवत दाहाल १ घण्टा २५ मिनेट ७ सेकेन्ड र बुटवलका गंगाबहादुर पुनले १ घण्टा ४८ मिनेट २ सेकेन्डमा दूरी पूरा गरी पहिलो, दोस्रो र तेस्रो भए । शीर्ष ३ जनालाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदबाट पुरस्कृत गरिएको छ ।
विद्यालयस्तरी ५ किलोमिटर छात्रतर्फ सुर्खेतका अजय विक, सुर्खेतकै रमेश बुढा र मुगुका नमराज बानिया तथा छात्रातर्फ सुर्खेतका विमला कार्की, सुर्खेतकै पूर्णिमा बुढाक्षेत्री र कालिकोटकी लक्ष्मी शाही क्रमशः पहिलो दोस्रो र तेस्रो भएका छन् ।
विद्यालयस्तरीय दौडका शीर्ष ३ खेलाडीलाई जनही १० हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिएको छ । ५ किलोमिटर दौडमा एसओएस हर्मन माइनर विद्यालयका साढे ८ वर्षका बालक प्रेम बस्नेतले समेत दौड पूरा गरेका थिए । उनलाई आयोजकले २ हजार नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।
प्रतिक्रिया