मदन-आश्रितलाई मारेर नदीमा फालिएको हो: झलनाथ खनाल

मदन-आश्रितलाई मारेर नदीमा फालिएको हो: झलनाथ खनाल


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१ औँ मदन-आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले भण्डारी र आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका हुन् ।

उनले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रूपमा फालिएको दाबी गरे ।

मदन-आश्रितको मृत्यु दुर्घटनाबाट नभई निर्ममतापूर्वक गरिएको हत्या भएको उनले दाबी गरे । नेता खनालले मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गरेको बताए ।

‘मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका लागि सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ। उहाँहरूले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा उठाउन लगातार प्रयत्न गरिरहनुभएको थियो। लोकप्रिय ढंगले उहाँहरू नेपाली जनताको बीचमा स्थापित भइरहनुभएको थियो। त्यस्ता नेताहरूको षडयन्त्रपूर्ण र रहस्यपूर्ण ढंगले हत्या भएको हो। मुग्लिनबाट नारायणघाटबाट गइरहेको गाडी भित्तातिरबाट हिँड्छ, भित्ताबाट हिँडेको गाडी कसरी खोलातिर खस्न सक्छ। यो षड्यन्त्रपूर्ण हत्या हो भन्ने पुष्टि हुन्छ। ३० वर्ष होस् कि सय वर्षपछि होस्, हत्या हत्या नै हो, अपराध अपराध नै हो।’, उनले भने ।