सच्चा र स्वाभिमानको राजनीतिले तानेको मनलाई चाकडीवाद र नश्लधारी विचौलियाहरूको ऐठनले गुम्राहामा पारेको देखिन्छ । सोचे र चाहे (घोषणा पत्र अनुसार) जस्तै राजनीतिक दल र कार्यकर्ताहरू हुन्थे भने अहिले देश के–के भइसक्थ्यो ।
जसरी हिजो झुपडीमा बसेर २ छाक खान धौं–धौं भएका, फिता छिनेको चप्पल लगाउनेहरू अहिले महलमा बसेर पजेरो र मर्सटिज गाडी हुइँक्याउँदै हिड्ने भएका छन् । तर यो परिवर्तन कसरी र कहाँबाट भयो भन्ने कुरा कसैले पनि खोजिनीति गरेन । त्यही कुरा राजनीतिक विकृतिको नजिर सबै दल र कार्यकर्तामा पस्यो ।
२०७० सालताका निर्वाचनको माहोलले शहरदेखि गाउँसम्म बेस्सरी हल्लाएको थियो । लामो समयदेखिको राजनीतिक अस्थिरता, नेपाली जनताका जनप्रतिनिधिद्वारा लिखित संविधान निर्माणको लागि सकस र सशस्त्र जनयुद्धका कमरेडहरूको धङधङीको घाउ निभेको थिएन ।
त्यो चुनाव राजनीति बुझ्ने कडीका रूपमा मेरो लागि अवसरका साथै चुनौती बनेर आएको थियो । जुन देशकै भविष्य र स्थिरताको भाष्य निर्माण गर्ने प्रस्थान विन्दु थियो ।
२०७० सालकै निर्वाचनपछि २ वर्ष लगाएर संविधान सभाबाट २०७२ सालको संविधान बन्यो । जुन आज कार्यान्वयनको सिलसिलामा छ । यो दौरानमा राजनीतिक लेन्समार्फत सामाजिक प्रवृत्ति र अवस्थालाई नियाल्न पाएको दशक भयो ।
राजनीति र समाज विकासको यही स्कूलिङ र दिशानिर्देशले आज पनि यसैतिर प्रेरित गरिरहेको छ ।
नेपाली समाज, राजनीतिक प्रवृत्ति र त्यसमा भइरहेका विद्यमान जडहरूलाई बुझ्न र थप स्पष्ट पार्नु आलेखको सार हो । जुन हामी सबैको भोगाइ र दिनचर्या नै बन्न पुगेको छ । निश्चय पनि कुनै सफलता हासिल गर्न सजिलो हुँदैन, राजनीतिमा त झन् बारम्बारको ठक्कर, हन्डर, व्यवधान र समस्याहरू नआउने कुरै भएन ।
खिसिट्युरी, विधिभन्दा व्यक्ति प्रधान, चाकडी र स्तुति गायनले सफलता त दिलाउला तर त्यो असफलसिद्ध हो । किनभने सेवा कहिल्यै असफल हुँदैन । त्याग कहिल्यै असफल हुँदैन । प्राप्तिको आकांक्षा असफलता हो, त्यो पनि सन्तुष्टि विनाको वैभव वा पद ।
तर राजनीतिक यात्रा सजिलो हुँदैन भन्ने राष्ट्रिय राजनीतिले नै हाम्रै अघि प्रतीत गराउँछ, लत्याउने प्रवृत्तिसँग जानकार जो कोहीले जानेका छन्, राजनीतिमा लागेकाहरू ।
राजनीति कति विकृति तथा बदनाम हुने रहेछ भन्ने बुझ्न पार्टी राजनीतिसँग नजिकिए पुग्छ । जहाँ म राजनीति तथा समाजको एक प्रतिनिधि पात्रको रूपमा आफूलाई उभ्याएर हेर्दा त्यो पाउँछु ।
इमान्दार नेता–कार्यकर्तासँग आ–आफ्नै अनुभव, भोगाइ र पीडाहरू पनि नभएका होइनन् । स्थानीय तहदेखि केन्द्रसम्म कस्ता–कस्ता कूकृत्य र ठगहरूको कस्तो दबदबा हुन्छ भन्ने अनुभूत र साक्षात्कारका लागि अझ दलरूपी घरको ढोकाभित्र प्रवेश गर्दा बुझ्न सकिन्छ ।
यो दशकको दौरानमा जुन प्रवृत्ति नजिकबाट नियाल्न पाए मैले, यहीँ कुरालाई एक इमान्दार व्यक्ति र नेविसंघ क्षेत्रीय सभापति बझाङ ‘ख’को सभापतिको केही अनुभवहरू साट्न चाहन्छु –
१. समुदायमा सत्य र न्यायका लागि सधैं आवाज बुलन्द गर्दा कसैको साथ सहयोग पाइएन र अन्त्यमा ढोगी र चाकडी चाप्लुसी गर्ने नारदहरू नै अगुवा भए, जसको मार सबैले खेपिरहनुपरेको छ ।
२. विद्यार्थी राजनीतिमा वामे सर्न थालेदेखि समाज र संस्थाका मुद्दाप्रति केन्द्रित भई नै रहे तर केही विद्यार्थीका ठेकेदार, चाकडी र चाप्लुसीका बादशाह र तस्करहरूको हात अंकुश देखे ।
३. पार्टी तथा विद्यार्थी संगठन निर्माणमा हरेक क्षेत्र, भूगोल अहोरात्र जुटे तर जहाँबाट प्राप्त हुने अवसरहरूमा पर्याप्त राजनीतिक विचौलियाहरूसँग ठोक्किए ।
४. पार्टीको हरेक निर्वाचनमा पार्टीले तयार पारेको नीति–निर्देशन बमोजिम जात र नश्ललाई विजेतासम्म पुर्याउन न्वारनदेखिको तागत लगाई निष्कपटी भावनाले अग्रमोर्चामा उभिए, विडम्बना उहीँ जनप्रतिनिधि भ्रष्ट, लुटाहा, घुसखोर, सेवक नभई शासक भएको, पैसा, बैंश र स्त्रीमा लम्पट भएको र सकुनीहरू बादशाहका रूपमा फेला पारे ।
५. आफू आफ्नो कर्म/धर्म बिर्सेर अर्काको अहित, घेराबन्दी, षड्यन्त्र, जालझेल गर्ने राजनीतिक व्यक्ति तथा समूहलाई दशकौंसम्म नसुध्री आफू बर्बादी हुँदै गरेको फटाहा झुण्ड अनुभूत गरे ।
६. नागरिकहरूको दुरावस्था हुनुका पछाडि सत्ता–शक्तिको उन्मादले केटी र पैसा परस्त नातावाद र अवसरवादलाई प्रश्रय गर्ने केही कर्मचारी रूपी राजनीतिक एजेन्ट तथा कार्यकर्ताको प्रत्यक्ष संलग्नताको सांक्षी भए र साझा शत्रु ठम्म्याए ।
यी अनुभवले सच्चा पवित्र मन वा सेवामा निस्वार्थ लाग्नेहरूलाई निरूत्साह गर्ने छैन भन्ने विश्वास छ । सद्बुद्धि, सत्प्रेरणा आउनैपर्नेहरूलाई आओस् कामना छ ।
उल्लेखित तीतामीठा अनुभवले अबको हाम्रो कार्यदिशा र कार्यशैलीलाई निश्चय नै परिवर्तन गर्नु जरुरी देखिन्छ । जनतालाई सन्तुष्ट पार्न र नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक बनाउन राजनीति वृत्तमा देखिएका विकृतिलाई हटाउनु जरुरी छ ।
न्युनतम नैतिकता र सदाचार देखाउनु आवश्यक ठान्दछु । समग्र सांगठनिक पवित्र उद्देश्य हासिल गर्न र नागरिक सन्तुष्ट शासन सुशासन तथा समृद्धि हासिल गर्न नेतृत्व र राजनीतिक शासक वर्गले विशेष ध्यान दिएर राजनीति विकृतिलाई अन्त्य गर्नु जरुरी देखिन्छ ।
अब आफूतिर फर्कौं र आफ्नालाई चिनौं, फगतको लहडलाई बिर्सौं, लेखाजोखामा स्पष्ट होऔं र सहयोग लिऔं तर बदलामा सौदाबाजी नफर्काऔं ।
यो जागरण तथा ऊर्जा नसेलाई लागिपर्ने प्रण गर्दै निरन्तर–निरन्तर अनि निरन्तर यही यात्रामा रहेको विषय जानकारीका लागि सबैमा निवेदन छ ।
प्रत्यक्ष वा अप्रत्यक्ष सहयोगी र असहयोगी हातहरूलाई सादर धन्यवाद तथा आभार !
(लेखक बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र (२) का क्षेत्रीय कार्यसमिति सभापति हुन् ।)
प्रतिक्रिया