संसद्मा भिडन्त भएन, कांग्रेसले उत्ताउलोपन देखायो : केपी ओली

संसद्मा भिडन्त भएन, कांग्रेसले उत्ताउलोपन देखायो : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद्मा उत्ताउलोपन देखाएको आरोप लगाएका छन् ।

शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले बिहीबार संसद्मा भिडन्त भएको नभई कांग्रेले उत्ताउलोपन देखाएको बताए ।

‘भिडन्त भएन, कांग्रेसहरूले उत्ताउलोपन देखाएर म बसेको ठाउँमा आएर, सत्ता पक्षको रोमा आएर, म बसेको ठाउँमा आउने, अनेक अपशब्द बोल्ने, त्यो खालको त सभ्य व्यवहार भएन,’ उनले भने ।

आफू आफ्नो ठाउँमा बसेको बेला कांग्रेसका सांसदहरू उत्ताउलो हुँदै आफ्नो छेउमा आएर जथाभावी बोलेका ओलीले बताए । उनीहरूको व्यवहार अशोभनीय भएको ओलीको टिप्पणी छ ।

कांग्रेसले सत्ता गुमाउनुपरेको झोक आफूमाथि पोखेको उनले बताए । ‘सरकाबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला,’ उनले भने ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी ओलीलाई कांग्रेसका सांसद धनराज गुरुङ लगायतले अभद्र व्यवहारको प्रयास गरेका थिए । त्यसलाई एमाले सांसदहरूले रोक्न खोज्दा धकेलाधकेल भएको थियो ।