आइपिएलको दोस्रो क्वालिफायरमा सनराइजर्स र राजस्थानबीच प्रतिष्पर्धा हुँदै

आइपिएलको दोस्रो क्वालिफायरमा सनराइजर्स र राजस्थानबीच प्रतिष्पर्धा हुँदै


काठमाण्डु – इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि शुरु हुने छ ।

राजस्थान रोयल्सले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो भने सनराइजर्स हैदरावाद पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने अहिलेसहित सात पटक प्लेअफमा पुगेको छ ।

सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार खेलेका छन् । उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन् । त्यस्तै अभिषेक शर्माले ४७० रन बनाएका छन् । सनराइजर्सका लागि टि नटराजनले १८, कप्तान पाट कमिन्सले १६ विकेट लिएका छन् ।

राजस्थानका लागि यस खेलमा ओपनर जोस बटलर खेल्ने छैनन् । उनी विश्वकपको तयारीका लागि इङल्याण्ड फर्किसकेका छन् । राजस्थानका लागि रियान परागले यस सिजनमा ५६७ रन बनाएका छन् भने कप्तान सन्जु सामसनले ५२१ रन बनाएका छन् ।

राजस्थानका लागि युजवेन्द्र चहलले सर्बाधिक १८ विकेट लिएका छन् भने आभेश खानले १६ विकेट लिएका छन् । राजस्थानले आइपिएलको पहिलो सिजनमै उपाधि जिते पनि त्यसपछि उपाधि जित्न सकेको छैन । राजस्थान २०२२ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

दुवै टिमका लागि यस सिजनको आइपिएलको फाइनलमा पुग्ने अन्तिम अवसर हो । यस खेलको विजेता फाइनलमा पुग्ने छ र उपाधिका लागि कोलकोता नाइट राइडर्स सँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिमको भने आइपिएल यात्रा समाप्त हुने छ ।