संसद बैठक अघि रणनीति तय गर्न विपक्षी दलहरूको छलफल जारी

संसद बैठक अघि रणनीति तय गर्न विपक्षी दलहरूको छलफल जारी


काठमाण्डु–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको छ ।

कांगेससहित विपक्षी दलले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गरेको छ । समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको छ ।

केही समययता कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा तथा राजमोले बैठक बसेर साझा धारणा तय गर्दै आएका छन् ।

पछिल्ला बैठकहरूमा सत्ता पक्षले पेलेर सदनको कार्यसूची अगाडि बढाइरहेको छ । विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन् ।

शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । संसदीय समितिको टीओआरमा सहमति बन्न नसकेकाले कांग्रेसले संसद बैठक अवरोध गर्ने सम्भावना छ ।

प्रतिनिधिसभाको बैठक ११ बजेका लागि बोलाइएको भए पनि सभामुख देवराज घिमिरे कार्यदल र विपक्षी दलको बैठकको निर्णय पर्खेर बसिरहेका छन् ।