आईपीएलको फाइनल आज

आईपीएलको फाइनल आज

कोलकाता र हैदराबाद आमने–सामने हुँदै


काठमाण्डु–इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणको फाइनल आज राति हुँखैछ । फाइनल खेलमा कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद आमने–सामने हुँदैछन् ।

उपाधिका लागि यी दुई टोलीबीचको खेल बेलुका पौने ८ बजे चेन्नइको एमए चिदम्बरम् क्रिकेट रंगशालामा हुँदैछ । हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो भने हैदराबादले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ । उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।

विश्वकप विजेता एवं हैजरावादका कप्तान प्याट कमिन्ससँग इतिहास रच्ने अर्को अवसर रहेको मानिएको छ । कोलकाता नाइट राइडर्ससँग पहिलो क्वालिफायरमा फराकिलो हारको सामना गरेको पाँच दिनपछि नै प्याटको टोली हैदराबाद फाइनलमा सोही टोलीको चुनौती सामना गर्दैछ । कोलकाताले यस सिजन लिग चरणमा १४ मध्ये ९ खेलमा जित हात पारेको छ भने ३ खेलमा मात्रै हार बेहोरेको छ ।

प्याटले गत वर्ष नै विश्व टेस्ट च्याम्पियनसिप र एकदिवसीय फरम्याटमा अस्ट्रेलियालाई विश्व च्याम्पियन बनाएका थिए । त्यसकारण पनि आइतबारको खेलमा उनीमाथि सबैको ध्यान रहने जनाइएको छ । कोलकाताले यस सिजन तीन खेल मात्र गुमाएको छ ।

हैदराबादले २०१६ मा अस्ट्रेलियाकै स्टार डेविड वार्नरको कप्तानीमा विश्वकै चर्चित र लोकप्रिय फ्रेन्चाइज लिग मात्र जितेको छ । गत सिजनमा हैदराबाद १० नम्बरमा सीमित बनेको थियो । तर यो सिजनमा उसले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्ने नजिक पुगेको छ । यो सिजन हैदराबादले ८ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो ।

अहिलेसम्म दुई टोलीबिच जम्मा २७ खेल भइसकेका छन् । जसमध्ये कोलकाताले १८ खेल जितेको छ भने हैदराबादले ९ खेल मात्र जितेको छ ।

चेन्नईको रंगशाला पिच स्पिनरहरूका लागि उपयोगी साबित भएको छ ।

अहिलेसम्म यहाँ ८९ आईपीएल खेल खेलिएका छन् । ४९ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ३५ खेल पछ्याउने टोलीले जितेका छन् । यहाँ उच्चतम टोली स्कोर २४६-५ हो, जुन घरेलु टोली चेन्नई सुपर किंग्सले २०१० मा राजस्थान रोयल्स विरुद्ध बनाएको थियो ।

सम्भावित टोली

कोलकाता नाइट राइडर्स : श्रेयस अय्यर (कप्तान), रहमान उल्लाह गुरबाज (विकेटकिपर), रिंकु सिंह, रमनदीप सिंह, भेंकटेश अययर, सुनिल नारायण, आन्द्रे रसेल, हर्षित राणा, वैभव अरोरा, मिचेल स्टार्क र वरुण चक्रवर्ती

सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, एडेन मार्कराम, अभिषेक शर्मा, नितिश रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे ।