के निर्वाचन पछि भारत अर्को महाशक्ति बन्छ ?

के निर्वाचन पछि भारत अर्को महाशक्ति बन्छ ?


काठमाण्डु–भारतमा लोकसभाको निर्वाचन जारी छ । शनिबारसम्म छैटौं चरणको निर्वाचन सम्पन्न भइसकेको  छ । सातौं तथा अन्तिम चरणको निर्वाचन १ जुनमा हुंदैछ । जसमा करिब ९७ करोड मतदाताले मताधिकारको प्रयोग गर्ने छन् । भारतीय जनता पार्टी नरेन्द्र मोदीको नेतृत्वमा तेस्रो पटक सरकार बनाउने योजनामा छ ।

निर्वाचन जति जति सकिदैछ, निर्वाचनको परिणाम र भावी सरकारका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा भइरहेको छ । सबैको ध्यान भाजपाको सरकार फेरि नरेन्द्र मोदीकै नेतृत्वमा बन्ने हो कि भन्ने अनुमान पनि गरिन थालिएको छ । तर, यहाँ भारतको आन्तरिक राजनीनि तथा चुनावी परिणामको विश्लेषणभन्दा आर्थिक शक्तिका रूपमा उदय भइरहेको भारतको चर्चा गरिएको छ ।

भारत परमाणुअस्त्र भएका र चन्द्रमामा यान अवतरण गराउने विश्वका थोरै देशमध्ये पर्छ । सन् २०१९ को निर्वाचनपछि यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र बनेको छ । भारत अमेरिकालाई उछिनेर पाँचौ ठूलो अर्थतन्त्र पनि बनिसकेको छ ।धेरैले भारत अर्को ‘विश्वशक्ति’ बन्ने भविष्यवाणी गरेका छन् । तर उसको उदयलाई आशा र सावधानीका साथ हेरिएको छ ।

‘भारत विश्वको विकासका लागि ‘इन्जिन’ हुनेछ’, प्रधानमन्त्री नरेन्द्र मोदीले गत अगस्टमा दक्षिण अफ्रिका भ्रमणका क्रममा भनेका थिए । भारतले सन् २०२३ को अन्तिम तीन महिनामा ८.४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी विश्वको सबैभन्दा तीव्र वृद्धि भएका प्रमुख अर्थतन्त्रको रूपमा आफूलाई स्थापित गरेको छ ।

अमेरिकी इन्भेस्टमन्ट ब्यांक मोर्गन स्ट्यान्लीलगायत कैयौँ वित्तीय संस्थाका अनुसार भारत सन् २०२७ सम्ममा जर्मनी र जापानलाई उछिनेर तेस्रो ठूलो अर्थतन्त्र बन्ने बाटोमा छ ।सबैभन्दा उल्लेखनीय कुरा के हो भने सन् १९४७ मा स्वतन्त्रता प्राप्त गर्दा यो विश्वको सबैभन्दा गरिब देशहरूको सूचीमा थियो ।

लामो ब्रिटिश शासनकालमा यो राष्ट्रले अपर्याप्त पूर्वाधार र बढ्दो जनसंख्याका निम्ति खाद्यान्न पनि पु¥याउन नसक्ने कृषि क्षेत्र भएको अवस्थाको सामना गरेको थियो । त्यसबेला भारतीयहरूको औसत आयु ३५ वर्ष थियो त्यो अहिले बढेर लगभग दोबर अर्थात् ६७ वर्ष भएको छ । विश्व ब्यांकका अनुसार विश्वव्यापी औसत आयु ७१ वर्ष छ ।

विश्व ब्याङ्कका अनुसार भारत विश्वको दशौँ ठूलो निर्यातकर्ता राष्ट्र हो । भारतले प्रशोधित तेल, हीरा र औषधि निर्यात गर्छ । भारतको आर्थिक विस्तारमा सेवा उद्योग र दूरसञ्चार तथा सफ्टवेअर उद्योगमा भएको व्यापक विकासले महत्वपूर्ण भूमिका खेलेको छ ।

तर,रोजगारीको अवसर सोही गतिमा विस्तार नभएको अर्थशास्त्रीहरू बताउँछन् । एचएसबीसीको एउटा विवरणअनुसार जनसंख्या वृद्धिको हिसाबले भारतले आगामी दशकमा सात करोड जनालाई रोजगारी दिनुपर्ने हुन्छ । तर त्यसको एक तिहाइभन्दा बढी रोजगारी सिर्जना गर्ने सम्भावना देखिँदैन ।

भारतमा धेरै विकसित देशहरूको तुलनामा युवा जनसंख्या अधिक छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२२ मा भारतीय जनसंख्याको मध्यवर्ती उमेर २८.७ वर्ष थियो। त्यस्तो उमेर चीनमा ३८.४ र जापानमा ४८.६ वर्ष थियो ।सरकारी तथ्याङ्कले भारतको बेरोजगारी दर आठ प्रतिशत देखाउँछ । त्यस्तो दर अमेरिकामा ३.५ प्रतिशत मात्र छ ।

यही मार्च महिनामा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले १५ देखि २९ वर्ष उमेरका समूहका मध्ये ८३ प्रतिशत मानिसहरू बेरोजगार पाइएको जनाएको छ र तीमध्ये अधिकांश कम्तीमा माध्यमिक शिक्षा प्राप्त गरेका छन् ।

‘युवाहरूसँग निराश छन् र भारतीय चमत्कारसम्बन्धी कुनै पनि कुराबाट कमै मोहित भएका छन्’, भारतीय पत्रकार तथा लेखक सिद्धार्थ देब भन्छन् । उनका पुस्तकहरू भारतको उदयका विषयमा केन्द्रित छन् ।

‘आर्थिक वृद्धिले राजमार्ग र विमानस्थल जस्ता नयाँ पूर्वाधारहरू विकास भए र अर्बपतिहरूको संख्या बढ्यो । तर भारतमा मानिसहरू सामान्यतया संघर्ष नै गरिरहेका छन्’, उनी भन्छन् ।

भारतमा महिला कर्मचारीको संख्या विश्वभरिको औसतभन्दा कम छ । सरकारका अनुसार भारतमा श्रम क्षेत्रमा रहेका महिलाको अनुपात ३३ प्रतिशत छ । विगतको तुलनामा धेरै भारतीय महिलाहरू अहिले शिक्षित बनेकाले विवाह गरेर घरमै बस्ने परम्परामा घटेको ठानिन्छ ।

भारत विश्वका सबैभन्दा असमान देशमध्ये एक पनि हो । भारतको आधा जनसंख्याको दैनिक आय ३.१० डलरभन्दा कम छ । विश्व ब्यांकका अनुसार त्यो भनेको औसत गरिबीको रेखा हो । तर,भारतमा सन् १९९१ मा जम्मा एक अर्बपति भएकामा सन् २०२२ मा बढेर त्यो संख्या १६२ पुगेको फोबर्सले जनाएको छ ।

अमेरिकास्थित प्रिन्स्टन यूनिभर्सिटीमा अन्तर्राष्ट्रिय आर्थिक नीतिका प्राध्यापक डा अशोक मोदी भारतमा मध्यमवर्ग बढ्दै जाँदा व्यापक असमानता पनि रहेको बताउँछन् । त्यसैले गर्दा संरचनागत पुनर्संरचनाबिना भारत महाशक्ति बन्छ भन्ने अनुमान गर्नु मूर्खतापूर्ण हुने उनको तर्क छ ।

भारतमा राजनीतिक ध्रुवीकरण हुनु नौलो कुरो होइन । १९ औँ शताब्दीको प्रारम्भदेखि नै भारत धर्मनिरपेक्ष हुनुपर्छ र छ । तर,हिन्दू राष्ट्र हुनुपर्छ भन्ने विषयमा बहस हुँदै आएको छ । भारतको जनसंख्याको ८० प्रतिशत भाग हिन्दूहरूको छ ।

सन् २०१४ मा मोदीको हिन्दू राष्ट्रवादी पार्टी भाजपाले अत्यधिक बहुमत ल्याएपछि यो बहस फेरि सघन भएको छ । पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानका मुस्लिमबाहेक अरू धार्मिक अल्पसंख्यक समुदायका मानिसहरूलाई भारतको नागरिकता दिन सजिलो बनाउने एउटा कानुन पारित भएपछि गत मार्च महिनामा संयुक्त राष्ट्रसंघ र संयुक्त राज्य अमेरिकाले त्यसप्रति चासो व्यक्त गरेका थिए ।

‘भारतको आर्थिक वृद्धि भएको छैन भन्न सकिँदैन । तर, नागरिक स्वतन्त्रतामा संकटमा परेको छ अनि साम्प्रदायिक असहिष्णुता चर्किएको छ,’ विवादास्पद उपन्यास ‘क्वार्टरलाइफ’ की लेखिका देविका रेगे बताउँछिन् ।

धेरै वर्षदेखि पश्चिमा देशहरू एशियामा चीनको प्रभावलाई सन्तुलनमा राख्न भारत उपयोगी हुने ठान्दै आएका छन् । भारतसँग परमाणुअस्त्र छ र उसको सेनामा १४.५ लाख सैनिक छन् । भारतीय सेना विश्वको दोस्रो ठूलो सेना हो । तर भारतले सधैँ पश्चिमले जे चाह्यो त्यही गर्छ भन्ने छैन ।

लन्डन स्कूल अफ इकोनमिक्स एन्ड पलिटिकल साइअन्समा कार्यरत अन्तर्राष्ट्रिय सम्बन्धकी ज्ञाता सानिया कुलकर्णीका अनुसार पश्चिमा देशहरूले भारतलाई चीनभन्दा कम समस्याकारी माने हुन्छ । तर भारतका आफ्नै आकांक्षाहरू भएको उनी औँल्याउँछिन् ।