काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रक्रियाका लागि पहल गरिदिन आग्रह गरेको छ ।
सोमबार क्यान अध्यक्ष चतुर बहादुर चन्दसहितका पदाधिकारी र लामिछानेसहितको टोलीले परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटेर भिसाको प्रक्रियाका लागि पहल गरिदिन आग्रह गरेको हो ।
आईसीसी टी–२० विश्वकप आउन एक साता बाँकी छ । सन्दीपलाई नेपालको टिममा समावेश गराउनका लागि सुरु गरिएको भिसा प्रक्रिया नेपालस्थित अमेरिकन राजदूतावासले अस्वीकार गरिदिएको थियो । त्यसपछि एक सातामात्रै समय बाँकी रहेको बेलामा क्यानले पहल सुरु गरेको हो।
टोलीसँगको भेटमा परराष्ट्रमन्त्री श्रेष्ठले सोमबार अमेरिकी दूतावास बन्द रहेकाले मंगलबार कुराकानी गर्ने आश्वासन दिएका थिए । परराष्ट्रमन्त्री श्रेष्ठले यसबारे मन्त्रालय बोलाएर कुरा गरिसकेको र फेरि पनि छलफल गर्न बोलाउने आश्वासन पनि दिएका थिए ।
सन्दीपको नाम राख्नकै लागि नेपालले अहिले टोलीमा १४ जनाको नाम राखेको छ । सन्दीपको भिसा लागेमा १५ हुने र सन्दीपको भिसा नलागेमा अमेरिकामा रहेका एक जनाको नाम थप्ने अध्यक्ष चन्दले जानकारी दिए ।
बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएसँगै विश्वकपका लागि भिसा प्रक्रिया सुरु गरेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । त्यसपछि क्यानले युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत भिसा दिलाउन पहल गरिरहेको छ।
उच्च निकायबाट नै पहल भइरहे पनि अमेरिकी दुतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न नसक्ने बताएको थियो।
नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्दै छ।
प्रतिक्रिया