बजेटले ६% आर्थिक वृद्धिको लक्ष्य सम्भव छ : अध्यक्ष ढकाल

बजेटले ६% आर्थिक वृद्धिको लक्ष्य सम्भव छ : अध्यक्ष ढकाल


काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटबाट सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव भएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले लिएका अन्य लक्ष्य कार्यान्वयन गर्न सकेमा ६% आर्थिक वृद्धिको लक्ष्य भेट्न सकिने टिप्पणी गरे ।

महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको तथा कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आउनु स्वागतयोग्य भएको उनले बताए ।

पर्यटनमा वैवाहिक पर्यटन ‘वेडिङ डेस्टिनेसन’ विकास गर्ने विषय आएको उनले सम्झिए । बजेटबाट देशको आर्थिक विकास सुधार गर्न सकिने र सूचना प्रविधि उद्योगलाई केन्द्रित गर्दै आएको सहुलियत र विस्तारका योजना समेत स्वागतयोग्य भएको उनले बताए ।

निजी क्षेत्रको प्रवर्द्धनका लागि महासंघले राखेको माग सम्बोधन भएको उनले बताए ।