बजेटलाई पत्याएन सेयर बजारले, परिसूचक २३.८१ अंक घट्यो

बजेटलाई पत्याएन सेयर बजारले, परिसूचक २३.८१ अंक घट्यो


काठमाण्डु – सरकारले आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेपछिको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । सरकारले मंगलबार बजेट संसदमा प्रस्तुत गरेको थियो ।

बुधबार नेप्से परिसूचक २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ।

मंगलबार प्रस्तुत भएको बजेटले लगानीकर्ताहरुको माग सम्बोधन नगर्दा यस दिन बजार घटेको जानकारहरू बताउँछन् ।

लगानीकर्ताहरु आगामी आर्थिक वर्षको बजेटमा कर सम्बन्धि नयाँ व्यवस्था गर्ने अपेक्षा गरेका थिए। तर, बजेटले कर सम्बन्धि कुनै हेरफेर नगरेपछि लगानीकर्ताहरु निराश भएकाले आज बजार घटेर २१०० विन्दुभन्दा तल झरेको हो।

नेप्से घटेप नि यस दिन कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३१४ स्टकको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।