काठमाण्डु– नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेग स्पिनर सन्दीप लामिछानेको भिसा प्रक्रिया काठमाडौंस्थित अमेरिकी दूतावासले अगाडि बढाएको छ । दूतावासले बिहीबार ४ बजे लामिछानेसँग अन्तर्वार्ता लिने तयारी गरेको छ ।
यही जुन १ देखि संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आईसीसी टी २० विश्वकप क्रिकेट सुरु हुँददैछ । टी २० विश्वकप खेल्न अमेरिका पठाउन उनलाई भिसा दिन सरकारले नोट पनि लेखिसकेको छ ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई पनि टी २० विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो ।
अमेरिकाले भिसा नदिएपछि लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल गरिदिन आग्रह गरेको थियो । तर, अमेरिकी दूतावासले भिसा दिन नमान्दा उनी जान पाइरहेका थिएनन् । उनलाई भिसा दिन माग गर्दै काठमाडौँको माइतीघरमा समर्थकहरूले प्रदर्शन गरेका थिए ।
काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेले गत साता उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सोही दिन क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । सफाइ पाएसँगै लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको छ । लामिछानेको भिसा प्रक्रियाका लागि सरकारमार्फत पहल गर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रक्रिया अगाडि बढाएका थिए ।
टी २० विश्वकप क्रिकेट खेल्न १६ खेलाडीसहित २३ सदस्सीय टोली गत बैशाख २४ गते नै अमेरिका गइसकेको छ । नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ । त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन् ।
टि२०मा समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले जुन ४ मा टी २० विश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सको सामना गर्नेछ । दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ ।
प्रतिक्रिया