के हो श्रमाधान रोजगार मेला ?

के हो श्रमाधान रोजगार मेला ?

रोजगारीको पहिचान र सीपको बारेमा जानकारी दिइने


काठमाण्डु-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा बिहीबारदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ ।

सातै प्रदेशमा आयोजना हुने ‘श्रमाधान रोजगार मेला’ को पहिलो संस्करण कोसी प्रदेशको विराटनगरबाट सुरु भएको छ । विराटनगरमा मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार नै उद्घाटन गरेका हुन् ।

नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ गर्न गरिएको हो ।

आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले मेला आयोजना गरिन लागिएको श्रम मन्त्रालयका  अधिकारीहरूको भनाइ छ ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको सुरक्षा मन्त्रालयको भनाइ छ । यसले रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवद्र्धन गर्ने पनि मन्त्रालयको अपेक्षा छ ।

‘मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवद्र्धन गरेर लैजानु हो’, श्रम मन्त्रालयका उपसचिव सुशीलप्रसाद आचार्यले बताए ।

उनका अनुसार मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिइने छ ।

कोसी प्रदेशबाट सुरू भएको मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोसी प्रदेसको विराटनगरमा विहीबार सुरु भएको मेला शुक्रबारसम्म चल्ने छ । मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ ।

विराटनगरपछि मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

‘मेलामा रोजगारीको खोजीमा रहेकाहरू रोजगारदातासम्म पुग्ने, अवसरको पहिचान गर्ने र आवश्यक सीपको बारेमा जानकारी पाउन सकिन्छ’, उपसचिव आचार्यले बताए ।

मेलाबाट करिब पाँच सय युवाले रोजगारी पाउने नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको भनाइ छ । ‘यहाँका उद्योगले स्वदेशी कामदार नपाएको स्थिति छ, भारतीय कामदारबाट काम चलाउनुपर्ने बाध्यतामा हामी छौँ,’ उनले भने, ‘मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने विश्वास छ ।’

उपसचिव आचार्य मेला बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको सुरुवात भएको बताउँछन् । उनले भने, ‘अबको १५ वर्षपछि बाध्यात्मक रूपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी डाटाबेस बनाउने हाम्रो तयारी छ ।’

मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ । अर्थात्, रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलन विन्दुस्थल हुनेछ । समग्रमा सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्वपूर्ण भूमिका रहने मन्त्रालयका प्रवक्ता एवं सहसचिव गोविन्दप्रसाद रिजालले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटेल संघ नेपाल मेलाको सहआयोजक छन् । मेलालाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले सहयोग गरेका छन् ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरूको पनि सहभागिता रहनेछ ।

श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने छ ।