काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको औपचारिक जानकारी गराएको छ ।
बिहीबार क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् ।
क्रिकेट खेलाडी लामिछानेको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा नदिएको पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दूतावासले बिहीबार ४ बजे लामिछानेसँग अन्तर्वार्ता लिएको थियो । अमेरिकी दूतावासले उनलाई बिहीबार अन्तर्वार्तामा बोलाएकोमा भिसा फेरि अस्वीकृत भएको छ ।
टी-२० विश्वकप क्रिकेट खेल्न उनले यसअघि दिएको आवेदन पनि अस्वीकृत भएको थियो । चौतर्फी दबाब भएपछि दूतावासले आज फेरि सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो । तर, अन्तर्वार्तामा पछि फेरि सन्दीपलाई भिसा दिन फेरि अस्वीकृत गरिएको छ ।
विश्वकप खेल्न अमेरिका पठाउन उनलाई भिसा दिन सरकारले नोट पनि लेखिसकेको छ । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई पनि टी-२० विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो ।
अमेरिकाले भिसा नदिएपछि लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल गरिदिन आग्रह गरेको थियो ।
काठमाण्डु जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेले गत साता उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सोही दिन क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । सफाइ पाएसँगै लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको छ । तर, अमेरिकी दूतावासले भिसा दिन नमान्दा उनी विश्वकप खेल्न जान पाइरहेका छैनन् ।
यता सन्दीप लामिछानेले आफ्नो टी-२० विश्वकप खेल्ने सपना पूरा नहुने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो टी-२० विश्वकप खेल्ने सपना पूरा नहुने बताएका थिए ।
आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोप्रति उनले खुसी व्यक्त गरेका छन् । दूतावासबाट भिसा नपाइने लामिछानेको स्टाटसबाट बुझन सकिन्छ ।
‘इमान्दारितापूर्वक भन्छन्, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’, निराश हुँदै उनले लेखेका थिए। यही जुन १ देखि संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आईसीसी टी-२० विश्वकप क्रिकेट सुरु हुँदैछ ।
टी-२० विश्वकप क्रिकेट खेल्न नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ । टी- २० मा समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।
नेपालले जुन ४ मा टी-२० विश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सको सामना गर्नेछ । दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ ।
प्रतिक्रिया