भारतीय लोकसभा निर्वाचन : एनडीए गठबन्धनले ४०० कटाउने एग्जिट पोलको आकलन

भारतीय लोकसभा निर्वाचन : एनडीए गठबन्धनले ४०० कटाउने एग्जिट पोलको आकलन


काठमाण्डु-भारतको १८ औं लोकसभाको सातौं चरणको निर्वाचन शनिबार सकिएको छ । सातौं तथा अन्तिम चरणको निर्वाचनमा ५७ सीटमा मतदान भएको छ । भारतको लोकसभामा कुल ५४३ सीट छ । अन्तिम चरणमा ५९.४५ प्रतिशत मतदान भएको छ । लोकसभा निर्वाचनका साथै आन्ध्र प्रदेश, ओडिशा, अरुणाचल प्रदेश र सिक्किममा विधानसभाको पनि निर्वाचन भएको हो ।

१९ अप्रिलमा पहिलो चरणको मतदान भएको भारतीय निर्वाचनको मतगणना मंगलबारबाट हुँदैछ । मतदान सकिएसँगै एग्जिट पोलका प्राम्भिक नतिजा पनि आउन सुरु भएको छ । प्राम्भिक नतिजाअनुसार बीजेपी गठबन्धनको एनडीएले अग्रता लिएको देखिन्छ ।

सातौं चरणको मतदान सम्पन्न भएसँगै अलग–अलग पक्षबाट जीतको दाबी पनि गरिदैछ । बीजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले कि बीजेपी ३७० सिटमा विजयी हुने र एनडीए गठबन्धनले ४०० सिट ल्याउने दाबी गरेका छन् ।

एनडीए गठबन्धनले उत्तर प्रदेश, ओडिशा, पश्चिम बंगाल र तेलंगाना राज्यमा गत निर्वाचनको तुलनामा यसपटक धेरै सिट जित्ने पनि नड्डाको दाबी छ । उता कांग्रेस अध्यक्ष मल्लिकार्जुल खड़गेले इण्डिया गठबन्धन २९५ भन्दा बढी सिटमा जित्ने दाबी गरेका छन् ।

२०१९को निर्वाचनमा नरेन्द्र मोदीको नेतृत्वमा एनडीएले ३५३ सिटमा विजयी भएको थियो । बीजेपी एक्लै ३०३ सिटमा विजयी भएको थियो भने कांग्रेस मात्र ५२ सिटमा जितेको थियो । कांग्रेस नेतृत्वको युपीए गठबन्धनलाई ९२ सीट हासिल भएको थियो ।

त्यसअघि २०१४ मा ‘मोदी लहर’ का कारण बीजेपीलाई २८२ र एनडीएलाई ३३६ सिट मिलेको थियो । यस्तै कांग्रेसलाई ४४ र यूपीएलाई ५९ सिट आएको थियो ।

एबीपी टीभीले गरेको एग्जिट पोल अनुसार एनडीए ३५३–३८३ सीटमा निर्वाचन जित्न सक्छ भने इण्डिया गठबन्धनले १५२–१८२ सीट हासिल गर्न सक्छ । अन्य दलहरुले ४ देखि १२ सिट पाउन सक्छ ।

कतिपय भारतीय सञ्चारमाध्यमहरुले एनडीएले ४०० भन्दा बढी सिट ल्याउन सक्ने पनि दाबी गरेका छन् ।

न्यूज २४ले बीजेपीको ३३५ भन्दा बढी सीट आउन सक्ने अनुमान गरेको छ । कांग्रेसले ५० भन्दा बढी सीट र इण्डिया गठबन्धनलाई १०७ सीट आउने अनुमान उसको छ ।

इण्डिया टीवीको एग्जिट पोलअनुसार एनडीएले ३७१ देखि ४०१ र कांग्रेसले १०९ देखि १३९ सिट पाउन सक्ने अनुमान छ । यस्तै अन्य पार्टीलाई २८ देखि ३८ सीट आउन सक्ने प्रक्षेपण गरिएको छ ।

रिपब्लिक टीवीको प्रक्षेपणमा एनडीएलाई अग्रता आउन सक्ने भनिएको छ । एनडीए ३५९ र इण्डिया गठबन्धनलाई १५४ सीटमा जित मिल्न सक्ने आकलन छ । ३० सीट अन्य पार्टीको पोल्टामा जाने अनुमान छ ।

इंडिया न्यूजको इग्जिट पोलअनुसार एनडीएलाई ३७१ र इण्डिया गठबन्धनलाई १२५ र अन्य दललाई ४७ स्थान पाउने आकलन छ ।