टी-२० विश्‍वकप : नामिबियाले ओमानलाई सुपर ओभरमा हरायो

टी-२० विश्‍वकप : नामिबियाले ओमानलाई सुपर ओभरमा हरायो


अमेरिका – नामिबियाले आईसीसी टी–२० विश्वकप–२०२४ मा ओमानलाई सुपर ओभरमा हराएको छ । समूह बी को पहिलो खेलमा नामिबियाले ओमानलाई हराएको हो । अन्तिम ओभरमा नामिबियाले ५ रन बनाउन नसकेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको नामिबियाले २१ रन बनाइ २२ रनको लक्ष्य दिएको थियो । ओमानले २२ रन बनाउनु पर्नेमा १ विकेट गुमाउँदै १० रनमात्र बनाएपछि नामिबियाले दुई अंक जोड्यो ।

यसिअघि पहिला ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ ओभरमा १०९ रनमा अलआउट भएको थियो । ११० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । अन्तिम ओभरमा मध्य गतिका बलर मेहरान खानले मात्रै ४ रन खर्चेर २ विकेट लिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

नामिबियाका जेन फ्रेलिंकले सर्वाधिक ४५ रन बनाए । निकोलस डेभिनले २४ र जेराल्ड इरास्मसले १३ रन बनाए ।

ओमानका मेहरान खानले ३ ओभरमा ३ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिए ।

बिलाल खान, आयन खान र अकिब इलियासले १,१ विकेट लिए ।

त्यसअघि केन्सिङ्टन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानका लागि खालि कैलले ३९ बलमा ३४, जिशान मकसुद २२ र आयन खानले १५ रन बनाए ।

तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले इनिङको सुरुवाती दुई बलमा कश्याप प्रजापति र अकिब इलियासलाई एलबीडब्लू आउट गरेपछि ओमानले कुनैपनि समय राम्रो गर्न सकेन ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ४, डेविड विजाले ३ विकेट लिए । जेराल्ड इरास्मसले २ र बेनार्ड स्कोल्ट्जले १ विकेट लिए ।