माल्दिभ्सले लगायो इजरायलका नागरिकमाथि प्रतिबन्ध

माल्दिभ्सले लगायो इजरायलका नागरिकमाथि प्रतिबन्ध


काठमाण्डु- माल्दिभ्सले इजरायलका नागरिकमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले इजरायली राहदानी भएकाहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

गाजामा भएको आक्रमणको विरोधमा माल्दिभ्सले इजरायली नागरिकमाथि प्रतिबन्ध लगाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर, यो नयाँ ऐन कहिलेदेखि लागू हुने भन्नेबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको छैन ।

सोही क्रममा राष्ट्रपतिले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न पैसा सङ्कलन गर्न सकिने ‘माल्दिभ्स इन सोलिडारिटी विथ प्यालेस्टाइन’ नामक अभियान पनि सुरु गरेका छन् । तर, यो प्रतिबन्धपछि इजरायलले आफ्ना नागरिकहरूलाई माल्दिभ्स नजान चेतावनी पनि दिएको छ ।

राष्ट्रपति मोइज्जुले विपक्षी र सरकारी सहयोगीहरूको दबाबबीच यो कदम चालेका हुन् । इजरायली हमलामा गाजामा हजारौं सर्वसाधारण मारिएपछि विपक्षी र सहयोगीहरूले मालदिभ्सबाट इजरायलीहरूलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।

यसैबीच इजरायलको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई माल्दिभ्स नजान आग्रह गर्दै माल्दिभ्समा रहेका इजरायली नागरिकलाई देश छाड्न चेतावनी दिएको छ ।

माल्दिभ्समा बसोबास गर्ने इजरायली नागरिकहरूलाई कुनै कारणले समस्या परेमा उनीहरूलाई मद्दत गर्न गाह्रो हुने भएकाले देश छोड्ने विचार गर्न सल्लाह दिएको छ ।

माल्दिभ्स–इजरायल सम्बन्धलाई सामान्य बनाउने प्रयास २०१२ मा समाप्त भएको थियो । जानकारीका अनुसार माल्दिभ्सले सन् १९९० को सुरुमा इजरायली नागरिकमाथिको पुरानो प्रतिबन्ध हटाएको थियो ।

कूटनीतिक सम्बन्ध पनि २०१० मा पुनर्स्थापित भएको थियो । तर, सन् २०१२ मा पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई सत्ताबाट हटाएपछि सम्बन्ध सामान्य बनाउने प्रयास पनि समाप्त भयो ।

माल्दिभ्सको अर्थतन्त्रको मुख्य आधार पर्यटन हो । गाजा युद्धले माल्दिभ्सको पर्यटनलाई पनि असर गरेको छ । यस वर्षको पहिलो चार महिनाको तथ्यांक हेर्दा गत वर्षको तुलनामा इजरायलको पर्यटनमा ८८ प्रतिशतले कमी आएको छ ।