काठमाण्डु – नवौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेट सुरु भइसकेको छ । प्रतियोगगिताको तेस्रो दिन नेपालले मंगलबार राति नेदरल्यान्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेल डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा राति सवा ९ बजे सुरु हुनेछ । एक दशकपछि नेपाल टी-२० विश्वकप खेल्न लागेको हो ।
यसअघि पहिलो पटक पारस खड्काको कप्तानीमा नेपालले बंगलादेशमा २०१४ मा टी-२० विश्वकप खेलेको थियो । दशकपछि फेरि नेपाल विश्व क्रिकेटको ठूलो प्रतिस्पर्धामा कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा उत्रन लागेको हो ।
नेपालभन्दा सबै बलिया
समूहमा आफूभन्दा निकै बलिया टोली रहेका कारण नेपालको हरेक खेल चुनौतीपूर्ण छ । पाँचौं पटक विश्वकप खेलिरहेको नेदरल्यान्ड्स २०२२ को पछिल्लो संस्करणमा सुपर १२ मा पुगेको थियो । २००९ को संस्करणमा नेदरल्यान्ड्सले इंग्ल्यान्डमाथि ४ विकेटको विजय हात पारेको थियो । यस्तै, २०२२ मा दक्षिण अफ्रिकामाथि पनि नेदरल्यान्ड्सले टी-२० विश्वकपमा ३८ रनको स्मरणीय जित हासिल गरेको थियो । गत वर्ष नोभेम्बरमा भारतमा सम्पन्न एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको थियो । यसपटकको विश्वकप अभ्यास खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई २० रनले हराएको थियो । यसले डच टोलीको आत्मविश्वास बढेको छ ।
नेपालले सन् २०१४ यता पहिलो पटक टी-२० विश्वकप खेल्न लागेको हो । तर, पनि नेपाल पहिलो खेलबाटै उत्कृष्ट प्रदर्शन गर्ने दाउमा पनि छ । समूह ‘डी’ मा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् । आईसीसी वरीयतामा यी सबै टिम नेपालभन्दा बलियो मानिन्छ । नेपाल आइसिसी वरीयतामा यी टोलीहरू भन्दा तल छ ।
श्रीलंका एक पटकको च्याम्पियन टोली हो । अर्का दुई टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशले अहिलेसम्म जित्न सकेका छैनन् । तर, यी दुवै बलिया टोली हुन् । दोस्रो एसोसिएट राष्ट्र नेदरल्यान्ड्स पनि पाँच पटक ट्वान्टी- २० विश्वकप खेलिसकेको अनुभवी टोली हो ।
त्यसैले नेपालका लागि यो समूह निकै कठिन छ । दोस्रो चरणमा पुग्न नेपालले कम्तीमा दुई टेस्ट राष्ट्रलाई हराउनुपर्नेछ ।
नेपाल र नेदरल्यान्ड्सको पहिलो भेट हुन लागेको होइन । यी दुई टोलीबीच ५ खेलहरू भएका छन् । ३ खेलमा नेदरल्यान्ड्स र २ खेलमा नेपाल जितेको छ । नेपाललाई पराजित गर्दै मार्चमा घरेलु मैदानमा भएको नामिबियासम्मिलित त्रिकोणात्मक शृंखला नेदरल्यान्ड्सले जितेको थियो ।
यो प्रतियोगितामा नेपाल आफ्नो उपस्थितिको छाप छोड्ने लक्ष्यमा छ । तर, आफूलाई प्रमाणित गर्न नेपालसँग स्तरीय प्रदर्शन गर्नुको विकल्प भने छैन । त्यसका लागि अप्रत्याशित नतिजा ल्याउनुपर्छ ।
तर, नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाई भने जस्तोसुकै ठूलो टोली पनि कहिलेकाहीँ खराब नतिजा आउने भन्दै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँछन् ।
ओपनिङको चिन्ता
ओपनिङ साझेदारी राम्रो नहुनु, कुनै एक ब्याटरले लामो इनिङ खेल्न नसक्नु र बलिङ युनिट लयमा नफर्कनु नेपालका लागि सबैभन्दा ठूलो चुनौती हो । बलर सन्दीप लामिछाने भिसा प्राप्त हुन नसकेपछि नेपाली टोलीमा छैनन् । अर्का अनुभवी बलर सोमपाल कामी र करण केसीले आफ्नो उत्कृष्टता प्रदर्शन गर्न नसकेको पनि लामो समय बितिसकेको छ ।
यस्तोमा नेपालको बलिङले समूह चरणमै निकै संघर्ष गर्न सक्छ । सोमपाल नेपाली टोलीकै सबैभन्दा पुराना र अनुभवी हुन् । उनले सन् २०१४ कै विश्वकप खेलेका थिए । त्यतिबेला सोमपालको उत्कृष्ट गतिको बलिङ अझै पनि चर्चा हुने गर्छ । तर, उनले अहिले त्यो गतिमा बल फ्याँक्न सकिरहेका छैनन् ।
अहिले नेपालले भोगिरहेको मुख्य चिन्ता ओपनिङको छ । पछिल्ला खेलहरूमा कुशल भुर्तेलको प्रदर्शन निराशाजनक छ । एसीसी प्रिमियर कपमा उनी लगातार तीन खेलमा शून्यमै आउट भएका थिए ।
उनको ओपनिङ जोडी आसिफ शेख पनि पछिल्ला ६ खेलमा एकमात्र अर्धशतक बनाउन सकेका छन् भने ४ खेलमा दोहोरो स्कोर नै बनाउन सकेका छैनन । तर २०२१ को अप्रिलमा नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक ट्वान्टी – २० शृंखलामा उनीहरूले नै पहिलो विकेटमा १ सय १६ रन जोड्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार ‘डेब्यु’ गरेका थिए । तर त्यसपछिका दिनमा उनीहरू जम्न सकेका छैनन् ।
ऐरी खेल्ने निश्चित
नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रसिंह ऐरीले खेल्ने निश्चित छ । दुई साताअघि एङ्कलमा चोट लागेयता उनले खेलेका छैनन् । ऐरीमाथि टिम र प्रशंसकले धेरै आशा गरेका छन् । उनी टोलीमा फर्किएपछि अनिल साहले प्लेयिङ ११ बाट स्थान गुमाउनुपर्ने हुनसक्छ ।
नेपाल उच्च मनोबलमा : पौडेल
कप्तान पौडेल यस विश्वकपकै सबैभन्दा कान्छा हुन् । कान्छो नेपाली क्रिकेट टोलीमा विश्वकप नजिकिँदै गर्दा आत्मविश्वास देखिन्छ । कप्तान पौडेलले उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत विश्वकपमा राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिन सदैव आफ्नो प्रयास हुने उनले बताएका हुन् ।
सन् २०१४ मै प्राप्त सफलतामा पुग्न नेपालले १० वर्ष नै कुर्नु परेको छ । अब नियमित खेल्ने अवस्था बनाइराख्न टोलीले १-२ वटा अप्रत्याशित सुखद नतिजाको वातावरण सिर्जना गर्न सक्ने खुबी पनि राखेको छ । कप्तान पौडेल पनि यसलाई अवसरका रूपमा लिएका छन् ।
प्रतिक्रिया