काठमाण्डु महानगरले कवाड संकलन रोकेपछि गृहमन्त्री लामिछानेसम्म पुग्यो गुनासो

काठमाण्डु महानगरले कवाड संकलन रोकेपछि गृहमन्त्री लामिछानेसम्म पुग्यो गुनासो


काठमाण्डु – राजधानीको काठमाण्डु महानगरपालिकाले कवाड संकलनमा अवरोध पुर्‍याएपछि ‘कवाड बचाऊ संघर्ष समिति’ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसम्म गुनासो पुर्‍याएको छ ।

सोमबार गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै समितिले महानगरले अदालतको आदेशलाई पनि उल्लंघन गरेको आरोप लगाएको छ ।

प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाण्डु महानगरका विभिन्न वडाहरूमा कवाड व्यवसाय सञ्चालन गर्दै आएकोमा वर्षाैंखि कवाड व्यवसाय गर्दै आएका कवाडीहरूलाई एकाएक महानगरपालिकाले कवाड खाली गर्न सूचना जारी गरेको गृहमन्त्रीलाई बुझाएको निवेदनमा उल्लेख छ ।

‘महानगरपालिकाले जबरजस्ती गरिरहेको गैरकानूनी कार्य रोकी कानून बमोजिम व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागसहित हामी अदालतमा निवेदन दिएका थियौं । निवेदनमाथि सुनवाइ गर्दै सम्मानित अदालतले ‘कवाडको कुनै संरचना तत्काल नभत्काउन र नियमित संचालन जारी राख्न’ काठमाण्डु महानगरको नाउमा अन्तरिम आदेश जारी गर्‍यो, जुन यो निवेदन साथ संलग्न छ,’ ज्ञापन पत्रमा भनिएको छ

महानगरले अदालतको आदेशलाई सम्मान गर्नुको सट्टा अदालतको मानहानी हुने गरी पुनः कवाड हटाउने कार्य जारी नै राखेको पीडितको आरोप छ ।

वैशाख महिनामा मात्र महानगरका विभिन्न वडा काठमाण्डुको अनामनगर, नरेफाँट, कोटेश्वर, टंकेश्वर, बानेश्वर लगायतका क्षेत्रमा कथित महानगर प्रहरीको नाउमा केही आपराधिक समूहद्वारा कवाड व्यवसायीलाई गालीगलौज तथा अभद्र व्यवहारको आपराधिक घटना भएको पीडितको आरोप छ । ‘महानगरको नाऊमा घटाइएको यस आपराधिक घटनाको छानबिन गरी हामी पीडित व्यवसायीहरूलाई क्षतिपुर्ति प्रदान गर्न तथा दोषीलाई कानून बमोजिम कारवाही गर्न माननीय गृह मञ्त्रीज्यूको गम्भीर ध्यानाकर्षणसहित निवेदन गर्दछौं ।’