१० वर्षपछि विश्वकपमा नेपाल : पहिलो भिडन्त आज नेदरल्यान्ड्ससँग

१० वर्षपछि विश्वकपमा नेपाल : पहिलो भिडन्त आज नेदरल्यान्ड्ससँग


काठमाण्डु – नवौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आज तीन खेल हुँदैछन् ।

आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुँदैछ । गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुनेछ ।

त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदैछ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुनेछ ।

त्यस्तै तेस्रो खेल समुह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुनेछ । नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेल डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा राति सवा ९ बजे सुरु हुनेछ । एक दशकपछि नेपाल टी-२० विश्वकप खेल्न लागेको हो ।

यसअघि पहिलो पटक पारस खड्काको कप्तानीमा नेपालले बंगलादेशमा २०१४ मा टी-२० विश्वकप खेलेको थियो । दशकपछि फेरि नेपाल विश्व क्रिकेटको ठूलो प्रतिस्पर्धामा कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा उत्रन लागेको हो ।

समूहमा आफूभन्दा निकै बलिया टोली रहेका कारण नेपालको हरेक खेल चुनौतीपूर्ण छ । पाँचौं पटक विश्वकप खेलिरहेको नेदरल्यान्ड्स २०२२ को पछिल्लो संस्करणमा सुपर १२ मा पुगेको थियो । २००९ को संस्करणमा नेदरल्यान्ड्सले इंग्ल्यान्डमाथि ४ विकेटको विजय हात पारेको थियो । यस्तै, २०२२ मा दक्षिण अफ्रिकामाथि पनि नेदरल्यान्ड्सले टी-२० विश्वकपमा ३८ रनको स्मरणीय जित हासिल गरेको थियो । गत वर्ष नोभेम्बरमा भारतमा सम्पन्‍न एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको थियो । यसपटकको विश्वकप अभ्यास खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई २० रनले हराएको थियो । यसले डच टोलीको आत्मविश्वास बढेको छ ।

नेपालले सन् २०१४ यता पहिलो पटक टी-२० विश्वकप खेल्न लागेको हो । तर, पनि नेपाल पहिलो खेलबाटै उत्कृष्ट प्रदर्शन गर्ने दाउमा पनि छ । समूह ‘डी’ मा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् । आईसीसी वरीयतामा यी सबै टिम नेपालभन्दा बलियो मानिन्छ । नेपाल आइसिसी वरीयतामा यी टोलीहरू भन्दा तल छ ।

श्रीलंका एक पटकको च्याम्पियन टोली हो । अर्का दुई टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशले अहिलेसम्म जित्न सकेका छैनन् । तर, यी दुवै बलिया टोली हुन् । दोस्रो एसोसिएट राष्ट्र नेदरल्यान्ड्स पनि पाँच पटक ट्वान्टी- २० विश्वकप खेलिसकेको अनुभवी टोली हो ।

त्यसैले नेपालका लागि यो समूह निकै कठिन छ । दोस्रो चरणमा पुग्न नेपालले कम्तीमा दुई टेस्ट राष्ट्रलाई हराउनुपर्नेछ ।

नेपाल र नेदरल्यान्ड्सको पहिलो भेट हुन लागेको होइन । यी दुई टोलीबीच ५ खेलहरू भएका छन् । ३ खेलमा नेदरल्यान्ड्स र २ खेलमा नेपाल जितेको छ । नेपाललाई पराजित गर्दै मार्चमा घरेलु मैदानमा भएको नामिबियासम्मिलित त्रिकोणात्मक शृंखला नेदरल्यान्ड्सले जितेको थियो ।

यो प्रतियोगितामा नेपाल आफ्नो उपस्थितिको छाप छोड्ने लक्ष्यमा छ । तर, आफूलाई प्रमाणित गर्न नेपालसँग स्तरीय प्रदर्शन गर्नुको विकल्प भने छैन । त्यसका लागि अप्रत्याशित नतिजा ल्याउनुपर्छ ।