युगान्डामाथि अफगानिस्तानको १२५ रनको जित

युगान्डामाथि अफगानिस्तानको १२५ रनको जित


गुयाना – टी–२० विश्वकपमा अफगानिस्तानले युगान्डालाई १ सय २५ रनले हराएको छ । मंगलबार बिहान प्रोभिडेन्स रंगशालामा भएको समूह सी अन्तरगतको खेलमा १ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो ।

युगान्डाका लागि रोबिनसन ओबुयाले २५ बलमा १४, रियाजत अली शाहले ३४ बलमा ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युगान्डाको इनिङ्स ध्वस्त बनाउन अफगानिस्तानका फजहलहक फारुकीले ५ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले ९ रन मात्र खर्चिए ।

नवीन उल हक र रासिद खानले २–२ विकेट लिए भने मुजिब उर रहमानले १ विकेट लिए ।

यसअघि अपोनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानको शतकीय साझेदारीको मद्दतले अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । दुई ओपनरले पहिलो विकेटका लागि १ सय ५४ रनको साझेदारी गरेका थिए ।

गुरबाजले ७६ र अर्का ओपनर जादरानले ७० रन जोडे । मोहम्मद नाबीले १४ रन बनाउन बाहेक अन्य ब्याटरले खुलेर रन बनाउन नसकेपछि २ सय रनभन्दा माथि बनाउन अग्रसर देखिएको अफगानिस्तान १ सय ८३ रनमा रोकियो ।

युगान्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २–२ विकेट लिए भने अल्पेस रामजानीले १ विकेट लिए ।