भारतको लोकसभा निर्वाचन : कहाँ चुके नरेन्द्र मोदी ?

भारतको लोकसभा निर्वाचन : कहाँ चुके नरेन्द्र मोदी ?

सरकार बनाउन नीतिश र नायडु बने 'किङ्मेकर'


काठमाण्डु- भारतको लोकसभा निर्वाचनको नतिजाबाट सत्ता पक्षधर भाजपाका लागि अप्रत्याशित बनेको छ । अब बिहारका मुख्यमन्त्री एवम् जनता दल युनाइटेड (जेडीयु)का अध्यक्ष नीतिश कुमार र तेलगु देशम पार्टी (टीडीपी)का अध्यक्ष चन्द्रबाबु नायडुको सहारामा नै भाजपाको सत्तारोहण हुनसक्छ । तर,विश्लेषकहरूका अनुसार नीतिश र नायडुसँग सत्तारोहण गर्न भाजपालाई सजिलो छैन ।

निर्वाचनमा भाजपाले २४० सीट जितेका छन् । सरकार बनाउन २७२ सीट चाहिन्छ । एनडीए गठबन्धनको खातामा करिब २९२ सीट छ, जुन सरकार बनाउन पर्याप्त छ । यस्तै विपक्षी इन्डिया गठबन्धनसँग २४३ सीट छ ।

इन्डिया गठबन्धनका सूत्रधार रहेका जेडीयु अध्यक्ष तथा बिहारका मुख्यमन्त्री नीतीश कुमार गत जनवरीमा गठबन्धन परिवर्तन गरी एनडीएमा सहभागि भएका थिए । बिहारमा एनडीएसँग उनले सरकार बनाए र लोकसभा निर्वाचनमा यहि गठबन्धनभित्र रहेर निर्वाचन पनि लडे ।

बिहारमा जेडीयुले राम्रो प्रदर्शन गर्दैै १२ सीटमा जीत दर्ज गराएको छ । यस्तै भाजपाको खातामा पनि १२ सीट गएको छ । यससँगै बिहारमा एनडीएले कुल ३० सीटमा जितेको छ ।

उता आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबू नायडुको तेलगू देशम पार्टी (टीडीपी) १६ सीटमा जितेको छ । यो पार्टीले १३५ सीट जितेर भारी बहुमत हासिल गरेको छ । टीडीपी पनि एनडीएमा छ ।

सरकार बनाउनका लागि मोदी र बीजेपीका अगाडि अब यी पुराना सहयोगीहरूसँग तालमेल बनाउन कठिन चुनौती छ ।

रोचक के छ भने नीतीश कुमार र चन्द्रबाबू नायडु दुबै केही समय अघिसम्म केन्द्रमा मोदी सरकार विरुद्ध मोर्चा नै चलाएका थिए । यस कारण अब एनडीए गठबन्धनमा उनीहरूको हैसियतलाई धेरै अहम मानिएको छ ।

सरकार बनाउनका लागि मोदी र बीजेपीका अगाडि अब यी पुराना सहयोगीहरूसँग तालमेल बनाउन कठिन चुनौती छ ।

ताजा नतिजा पछि सत्ता समीकरणमा यी दुई नेताहरू ‘किङमेकर’का रूपमा उदाएका छन् । भारतका वरिष्ठ पत्रकार सञ्जीव श्रीवास्तव भन्छन्, ‘अब केन्द्र सरकार नीतीश कुमार र चन्द्रबाबू नायडू बिना न बन्न सक्छ न त चल्न नै सक्छ । नीतीश त मौसम जसरी बदलिरहने नेता हुन् ।’ चुनावी नतिजाले भाजपाको घाँटीमा नीतिश र नायडु घण्टी जस्तै झुण्डिएका छन् । न राख्न मिल्छ न त हटाउन नै ।

चुनावी परिणामलाई विश्लेषण गर्दै पत्रकार श्रीवास्तव भन्छन्, ‘यदि सामान्य राजनीतिक सन्दर्भको कुरा गर्ने हो भने तेस्रो पटक सरकार बनाउन २४० सीट ल्याउनु खराब प्रदर्शन होइन । तर ‘४०० पार’को नारा दिएर भाजपा जितेर पनि चुनाव हारेको छ भने विपक्षी कांग्रेस हारेर पनि जितेको छ ।’

यस चुनावी नतिजको प्रमुख सन्देश भनेको प्रधानमन्त्री मोदीलाई एनडीएका सबै घटक दलहरूलाई सँगै लिएर हिंडनु रहेको उनी भन्छन् । दुई कार्यकालमा दस वर्ष प्रधानमन्त्री रहे पनि सरकारमा अन्य कुनै दल सहभागि थिएन । मोदीलाई सत्ता गठबन्धनको सरकार चलाउन अनुभव छैन । २००२ देखि २०२४ सम्म तीन पटक मुख्यमन्त्री र दुई पटक प्रधानमन्त्री रहँदा मोदीले एकछत्र राज गरेका थिए । अब अचानक तालमेल र सहमतिको राजनीति गर्नु मोदीका लागि अत्यन्तै चुनौतीपूर्ण हुनेछ । अब नयाँ भूमिकामा उनी आफूलाई कसरी ढाल्न सक्छन्, त्यसमै अब बन्ने सरकारको टिकाउपन निर्भर रहन्छ ।

१९९९ मा अटल बिहारी वाजपेयीको नेतृत्वमा सरकार बनेको थियो । जसमा एनडीए गठबन्धनमा २४ वटा पार्टीहरू थिए र उक्त सरकार पाँच वर्षसम्म टिकेको थियो । गठबन्धन सरकारमा तालमेल गर्न सक्ने वाजपेयीको क्षमता र कुशलताका कारण उनको सरकार पाँच वर्षसम्म स्थिरता दिएको थियो ।

यस्तो छ समीकरण

मौजुदा अवस्थामा सत्तारूढ़ एनडीए गठबन्धनसँग २९२ सीट छ जुन सरकार बनाउन चाहिने २७२ को बहुमतभन्दा अधिक हो । यदि जेडीयुका १२ सीट र टीडीपीको १६ सीट पनि जोडियो भने २८ सीट हुन्छ । त्यसैले यी दुई पार्टी बिना एनडीए २६४ सीटमा मात्रै सीमित रहन्छ, अर्थात् बहुमतभन्दा आठ सीट कम रहन्छ ।

जबकि अर्को तर्फ इन्डया गठबन्धनसँग २३२ सीट छ । जसमा कांग्रेसको ९९, समाजवादी पार्टीको ३७, तृणमूल कांग्रेस २९, डीएमको २१, शिवसेना यूबीटी ९, एनसीपी (शरद पवार) ७, आरजेडी ४, सीपीएम ४, आप ३, जेएमएम ३, सीपीआई एमएल २ र केही साना दलहरू छन् ।एनडीएको २९२ सीटमा बीजेपी २४० स्थानमा जितेर संसदको सबैभन्दा ठूलो दल बनेको छ । यसपछि टीडीपी र जेडीयु छन् ।

त्यसैले केन्द्र सरकारको गठनमा नीतीश कुमार र चन्द्रबाबू नायडु ‘किङमेकर’ बनेका छन् । यसकारण अहिले सबैको आँखा नायडु र नीतीश कुमारमाथि छ । यी दुबै नेता समय–समयमा साझेदार गर्दै रणनीति सिन बदल्दै आएका छन् ।

यसकारण केन्द्रमा सरकार गठनको साँचो अहिले यी दुई नेताको हातमा पुगेको छ । सरकार बनाउन र त्यसलाई टिकाउन भाजपालाई सत्ता सन्तुलनको साधना गर्नुपर्ने विश्लेषकहरूको भनाइ छ ।

भाजपासँग नायडुको कुनै वैचारिक र भावनात्मक सम्बन्ध छैन । उनको व्यवहार परिस्थितिअनुसार बदलिरहन्छ । यसकारण सरकारमा सहभागि र समर्थन गरेपछि नायडुबाट ठूलै माग हुन सक्ने सम्भावनालाई पनि विश्लेषकहहरूले अस्वीकार गर्दैनन् ।