भाजपाले चुनाव जित्न नसकेको जिम्मेवारी लिँदै उपमुख्यमन्त्रीले गरे राजीनामाको प्रस्ताव

भाजपाले चुनाव जित्न नसकेको जिम्मेवारी लिँदै उपमुख्यमन्त्रीले गरे राजीनामाको प्रस्ताव


काठमाण्डु – हालै सम्पन्न लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले महाराष्ट्रमा अपेक्षाकृत जीत हात पार्न नसकेको जिम्मेवारी लिँदै उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले राजीनामाको प्रस्ताव गरेका छन् ।

पार्टीको निर्देशन नदिँदासम्म सरकारमै बस्नुपर्ने बाध्यता भए पनि उनले आफू राजीनामा दिन तयार रहेको बताउँदै पार्टीमा पर्याप्त समय दिन सरकार छाड्नुपर्ने प्रस्ताव गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रका कूल ४८ सिटमध्ये भाजपाले ९ सिट मात्रै जितेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनको दल शिवसेना (एकनाथ शिंदे) र एनसीपी (अजित पवार) ले क्रमशः ७ र १ सिट जितेका छन् । यसरी एनडीए गठबन्धनले १७ सिट मात्रै जित्दा विपक्षी इन्डिया गठबन्धनले ३० सिट जितेको छ ।

उनले भनेका छन्, ‘महाराष्ट्रमा भाजपालाई लागेको झड्काको पूरै जिम्मेवारी म लिन्छु । म पार्टी नेतृत्वलाई आग्रह गर्दछु – पार्टीले मलाई सरकारको जिम्मेवारीबाट मुक्त गरोस्, मैले अब पार्टीलाई पर्याप्त समय दिएर आगामी चुनावको तयारी गर्न सकुँ । म विधानसभा चुनावका लागि राज्यमा भारतीय जनता पार्टीलाई पूरै समय दिन चाहन्छु ।’

उनले भाजपालाई लगातार तेस्रोपटक सरकार बनाउने अवसर दिएकोमा जनतालाई धन्यवाद दिएका छन् ।