काठमाण्डु- भारतमा सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाउन पहल सुरु गरेको छ ।
यद्यपी भाजपाले अपर्याप्त बहुमतका कारण एक्लै सरकार बनाउन सक्दैन । तर उसको नेतृत्वमा रहेको एनडीए गठबन्धनले पूर्ण बहुमत हासिल गरेको छ र गठबन्धनको बलमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि पुनः प्रधानमन्त्री बन्दैछन् ।
निर्वाचनमा भाजपा र एनडीए गठबन्धनलाई २७२ सीट प्राप्त भएको जुन पूर्ण बहुमतभन्दा केही बढी हो । विपक्षी दलको इन्डिया गठबन्धनले पछिल्ला दुई निर्वाचनभन्दा राम्रो प्रदर्शन गरेको छ ।
भारतमा सम्पन्न लोकसभाको निर्वाचनमा विश्वभरिकै आँखा गडेको छ । कारण, विश्वकै उदाउँदो अर्थतन्त्र र महाशक्ति बन्ने दौडमा रहेको भारतमा नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछन् ।
भाजपाको एकल बहुमतको सरकार नबन्ने भएपछि प्रधानमन्त्री मोदीलाई गठबन्धन दलहरूमाथि निर्भर रहनु परेको छ । यस्तो अवस्थमा प्रधानमंत्री मोदी निर्णायक तरिकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा कति खरो उत्रछन् त्यसको परीक्षा पनि सुरु हुँदैछ । यस्तो अवस्थमा भारतका छिमेकी देशहरूमा कस्तो प्रभाव पार्न सक्छ त्यसको पनि विश्लेषण सुरु भएको छ ।
भनिन्छ दिल्लीमा पानी पर्यो भने काठमाडौंमा छाता ओढिन्छ । शायद यही कारणले भारतको लोकसभा निर्वाचनको विषयमा हरेक नेपालीलाई धेरै उत्सुकता रहेको पाइन्छ ।
दिल्लीमा हुने सत्ता परिवर्तनले दुई देशको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धमा कुनै खास असर भने गर्दैन । अहिले भारतीय निर्वाचनको नतिजामा भएको परिवर्तनले पनि दुई देशको सम्बन्धमा असर नपर्ने बताइन्छ ।
भारतमा हिन्दुत्वको एजेन्डासँग जोडिएको पार्टी भाजपा पुनः सत्तामा आउने भएकाले नेपालमा पनि हिन्दू राज्यको पुरानो विरासतलाई पुनस्र्थापित गर्नेहरू भने उत्साहित छन् ।
तर नेपालजस्तो नजिकको छिमेकी रहेका कारण दिल्लीमा बन्ने नयाँ सरकारका अगाडि सम्बन्ध सुधार्न र सुदृढ गर्न भने लामै सूची छ । केही समयदेखि नेपाल र भारतबीचको सम्बन्ध घडीको पेन्डुलम जस्तो संकटको एक कुनाबाट अर्को कुनामा घुमिरहेको छ।
२०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी आफ्नो दोस्रो द्विपक्षीय विदेश यात्रा नेपालबाट गरेका थिए । २०७२ मा नेपालमा आएको भुकम्पपछि नेपाल र भारतबीच सम्बन्ध थप सुदृढ भएको जानकारहरूको भनाइ छ ।
तर २०७२ सालमा संविधान जारी पछि भारतले गरेको नाकाबन्दी पछि दुई देशबीच सुरु भएको खटपट अहिलेसम्म जारी छ । यसका अतिरिक्त दुई देशबीच मैत्री सन्धिमा परिवर्तनको मुद्दा र भारतीय सेनाको अग्निपथमा गोरखा सैनिकको भर्ती, बढदो व्यापार घाटा र थप हवाई उडान मार्ग जस्ता विषय सम्बन्धमा असर पारेको छ ।
नेपालको केन्द्रीय बैंकमा अहिले पनि पाँच करोड़ मूल्यका पुराना भारतीय नोट थन्किएको छ, जो २०१६ मा भएको नोटबन्दी पछि भारतले फिर्ता लिन अस्वीकार गरेको थियो ।
भारतको निर्वाचनमा भाजपाको कमजोर अवस्था पछि पाकिस्तानले कुनै प्रतिक्रिया दिएका छैन ।
पाकिस्तानी जनता भारतको निर्वाचनप्रति उदासीन छन् । उनीहरू आफ्नै घरेलु राजनीतिक, आर्थिक र सुरक्षा संकटसँग जुधिरहेका छन् । जसका कारण छिमेकमा भइरहेको घटनाक्रमप्रति उनीहरू कमै चासो देखाउँछन् ।
आम पाकिस्तानीको के मान्यता छ भने सत्तामा भाजपाको पुनरागमन भारतीय मुसलमानहरूका लागि राम्रो खबर होइन ।
अधिकांश पाकिस्तानी नागरिक मोदीको नेतृत्वमा अब पनि दुई देशबीच सम्बन्धमा सुधार आउने विश्वास गर्दैनन् ।
राजधानी इस्लामाबादमा इस्टिच्यूट अफ स्ट्रेटिजिक स्टडिजमा इन्डिया सेन्टरका निर्देशक डा. खुर्रम अब्बास भन्छन, ‘भाजपा तेस्रो पटक सत्तामा आउनुको अर्थ अधिक आक्रामक र आत्मविश्वासी भारतको सामना गर्नु हो ।’
‘भारतमा राजनीतिक र रणनीतिक सहमति बनेको छ । पाकिस्तानसँग सम्बन्ध सुधार्ने नभई पाकिस्तानलाई अलग्याउने नीति अपनाउने छ ।’
भारतप्रति अमेरिकी नीति स्पष्ट छ । अमेरिकाका लागि भारत महत्वपूर्ण हो, खास गरी चीनलाई सन्तुलित राख्ने विषयमा । यद्यपी धेरै अमेरिकी नेताहरूले मोदीलाई मन पराउँदैनन । तर भारतसँग सुमधुर सम्बन्धको पक्षमा उनीहरू छन् ।
भारतमा लोकसभा निर्वाचनले बंगलादेशको लागि पनि महत्वपूर्ण छ । शेख हसिनाको नेतृत्वमा आवामी लिगको सरकार सत्तामा आएपछि दुई देशबीचको सम्बन्धमा धेरै सुधार आएको छ ।
कांग्रेसको सरकारभन्दा भाजपाको सरकारको समयमा भारत र बंगलादेशबीच सम्बन्ध सुध्रिएको हो । मोदीकै पालामा दशकौंसम्म अल्झिएको सीमा विवादको मुद्दा पनि समाधान भएको छ ।
पूर्ववर्ती मनमोहन सिंहको सरकारले बंगलादेशसँग गरेका महत्वपूर्ण समझौताहरू मोदी सरकारले लागू गरेको छ । यद्यपी भारतमा जुन सुकै पार्टीको सरकार बने पनि शेख हसिनासँग उसको भरोसायोग्य सम्बन्ध रहदै आएको छ । यस्तै हसिनाले पनि भारतलाई भरोसायोग्य सहयोगी मान्छिन् ।
भारतका हरेक पार्टीबीच बंगलादेशसँग सम्बन्धित नीतिमा परिवर्तन नल्याउने विषयमा आम सहमति छ । तर पछिल्लो एक दशकदेखि बंगलादेशमा भारत विरोधी भावना धेरै जागृत भएको छ । किनभने बंगलादेशको लोकतान्त्रिक प्रक्रियामा भारतको हस्तक्षेप देखिएको भन्दै उसको तीखो आलोचना भइरहेको छ ।
बंगलादेशमा भएको पछिल्लो तीन आम निर्वाचनमा मोदी सरकारले शेख हसिनाको आवामी लिगलाई खुला समर्थन गरेको थियो । जसको बंगलादेशमा धेरै आलोचना पनि भयो ।
तर आउने दिनमा भारतको आन्तरिक नीतिमा के परिवर्तन हुन्छ, बंगलादेशमा यसको प्रतीक्षा गरिदैछ ।
प्रतिक्रिया