टी–२० विश्वकप : भारतको विजयी सुरुवात

टी–२० विश्वकप : भारतको विजयी सुरुवात


काठमाण्डु – आईसीसी टी–२० विश्वकपमा भारतले आयरल्यान्डमाथि आठ विकेटको सहज जित निकालेको छ । बुधबार राति न्यूयोर्कमा  भएको खेलमा ९७ रनको लक्ष्य पाएको भारतले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । यसैगरी, रिशव पन्तले ३६ रन बनाउँदा सूर्यकुमार यादवले दुई र विराट कोहलीले एक रन बनाए ।

बलिङतर्फ आयरल्यान्डका मार्क आडैर र बेन ह्वाइटले एक–एक विकेट लिए । त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रनमात्र बनाएको थियो ।

भारतीय बलरसामु निरीह देखिएका आयरल्यान्डका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेख्य बन्न सकेन । आयरल्यान्डका ग्यारेथ डेलानीले २६ रन बनाए । जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन थपे ।