उर्जामन्त्री पुन नर्भिकबाट डिस्चार्ज,केही दिन आराम गर्न डाक्टरको सल्लाह

उर्जामन्त्री पुन नर्भिकबाट डिस्चार्ज,केही दिन आराम गर्न डाक्टरको सल्लाह


काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन डिस्चार्ज भएका छन्। छातीमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका मन्त्री पुन शनिवार विहान डिस्चार्ज भएका हुन् ।

गएराति ६ बजे उर्जामन्त्रालयबाट निवास जांदै गर्दा मन्त्री पुनको छातीमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको उपचार नर्भिकका डाक्टर यादव भट्टले गरेका थिए । मन्त्री पुनको शनिवार विहान इको गर्नुका साथै सिटी इकयु समेत गरिएको थियो ।

अस्पताल रिपोर्ट अनुसार मन्त्री पुनको अवस्था सामान्य रहेको बताएपछि उनलाई डिस्चार्ज गरिएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले बताए ।

खड्काकाअनुसार मन्त्री पुनको मुटुको अवस्था पनि सामान्य रहेको छ । मन्त्री पुन हाल पुल्चोकस्थित निवासमा आराम गरिरहेका छन् । नर्भिकमा भर्ना भएका पुनलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल,नेता जनार्दन शर्मा,शक्ति वस्नेतलगायत नेता कार्यकर्ता अस्पताल पुगेका थिए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि टेलिफोनमार्फत उनको स्वास्थ्यअवस्थाको जानकारी लिएका थिए । नेकपाका स्थायी समिती सदस्य समेत रहेका मन्त्री पुन यसअघि कलेजोमा समस्या हुंदा लामो समय बैंककमा बसेर उपचार गरेका थिए ।

हाल उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकहरुले जनाएका छन् । मन्त्री पुनलाई केही दिन आराम गर्न डाक्टरले सुझाव दिएका छन् ।