भारतका ९० प्रतिशत सांसद करोडपति, ४६ प्रतिशत अपराधी

भारतका ९० प्रतिशत सांसद करोडपति, ४६ प्रतिशत अपराधी


काठमाण्डु–भारतको नवनिर्वाचित संसद्‍मा करोडपति र अपराध पृष्ठभूमिका सांसदहरूको बाहुल्यता तथ्यांक सार्वजनिक भएको छ । भारतको केही दिन अघिमात्र घोषित परिणाममा २४० सीटमा निर्वाचित भएर भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो दल बनेको छ । ९९ सीट जितेर कांग्रेस दोस्रो ठूलो दल बनेको छ ।

निर्वाचन जितेका लोकसभाका ५४३ सांसदहरू मध्ये ९० प्रतिशत बढी सांसद करोडपति र ४६ प्रतिशत सांसदहरू अपराधी रहेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

एसोसिएशन फर डेमोक्रेटिक रिफाम्स (एडीआर)ले निर्वाचन परिणामपछि सार्वजनिक गरेको रिपोर्टमा उनीहरू मध्ये केही सांसदको सम्पत्ति आश्चर्यजनक रूपमा रहेको छ । पछिल्लो १५ वर्षमा पहिलो पटक सबैभन्दा धनाढ्य उम्मेदवारले निर्वाचन जितेका छन् ।

आन्ध्र प्रदेशको गुन्टुरबाट जितेका टीडीपीका डा. चन्द्रशेखर पोमा सामी सबैभन्दा धनाढ्य सांसद भएको तथ्यांकमा उल्लेख छ । उनको कुल सम्पत्ति ५ हजार ७ सय ५ करोड रहेको पनि तथ्यांकमा उल्लेख छ । तेलंगानाको चेवेल्लाबाट निर्वाचित कोंडा विश्वेश्वर रेड्डी दोस्रो सबैभन्दा बढी धनाढ्य सांसद हुन् । उनी ४ हजार ५ सय ६८ करोड सम्पत्तिका मालिक हुन् ।

४६ प्रतिशत अपराधी

एडीआरले सार्वजनिक गरेको रिपोर्ट अनुसार ४६ प्रतिशतभन्दा बढी निवर्तमान सांसदहरूविरुद्ध अदालत र प्रहरीमा आपराधिक मुद्दा पनि चलिरहेको छ । यसपटक निर्वाचित २२५ सांसदहरूविरुद्ध कुनै न कुनै आपराधिक मुद्दा अहिले पनि दर्ता रहेको छ । ती मध्ये १४९ सांसदविरुद्ध गम्भीर प्रकारको मुद्दा दर्ता भएको पनि तथ्यांकमा उल्ले छ ।

भारतको यसपटकको लोकसभा निर्वाचनमा आठ हजार बढी उम्मेदवार बनेका थिए । ती उम्मेदवारहरू मध्ये १ हजार ६०० जनाविरुद्ध आपराधिक मुद्दा दर्ता रहेकाे रिपोर्टमा देखिन्छ । रिपोर्टले २००९ देखि आपराधिक मामिलाबाट घोषित सांसदहरूको संख्यामा ५५ प्रतिशतले वृद्धि भएको छ । यसपटक २५१ उम्मेदवारहरू मध्ये १७० अर्थात ३१ प्रतिशतमाथि हत्या, हत्या प्रयास, बलात्कार, अपहरण र महिला हिंसाविरुद्ध अपराधसहित गम्भीर आपराधिक मुद्दा  सरकारी निकायमा दर्ता रहेको देखिन्छ ।

नवनिर्वाचित सांसदहरू मध्ये ४६ प्रतिशत आपराधिक गतिविधिमा संलग्न रहेको रिपोर्टमा  औल्याइएको छ । यी मध्ये २७ जना निर्वाचित सांसदलाई अदालतले दोषी पनि ठहर गरिसकेको छ ।

भारतको लोकसभा निर्वाचनमा पहिलो पटक सबैभन्दा धेरै नवनिर्वाचित सांसदहरूमाथि आपराधिक मुद्दा दायर भएको पनि रिपोर्टले देखाएको छ ।

यसअघि २०१९ को लोकसभा निर्वाचनमा २३३ अर्थात ४३ प्रतिशत सांसदहरूमाथि अपराधिक मुद्दा दायर भएको देखिएको थियो ।

त्यसअघि २०१४ को निर्वाचनमा १८५ अर्थात ३४ प्रतिशत, २००९ मा १६२ अर्थात ३० प्रतिशत र २००४ को निर्वाचनमा १२५ अर्थात २३ प्रतिशत आपराधिक पृष्ठभूमिका नेताहरू सांसद निर्वाचित भएका थिए ।

एडीआरले २००९ देखि आपराधिक पृष्ठभूमिका सांसदहरू निर्वाचित हुने क्रममा ५५ प्रतिशत वृद्धि भएको जनाएको छ ।

यसपटकको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको भाजपाका २४० विजयी सांसदहरू मध्ये ९४ अर्थात ३९ प्रतिशत आपराधिक पृष्ठभूमिका छन् । कांग्रेसका ९९ वियजी उम्मेदवारहरू मध्ये ४९ अर्थात ४९ प्रतिशत र समाजवादी पार्टीका ३७ सांसदहरू मध्ये २१ अर्थात ४५ प्रतिशतमाथि आपराधिक आरोप छ ।