काठमाण्डु- भारतले चिर प्रतिद्वन्दी पाकिस्तानमाथि आइसीसी टी-२० विश्वकप अन्तर्गतको खेलमा विजयी भएकाे छ । भारतले आइसीसी टि-२० विश्वकप अन्तर्गतको खेलमा पाकिस्तान माथि ६ रनको जित निकालेकाे हाे ।
न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो । एक समय ७२-२ को अवस्थामा रहेको पाकिस्तानले अन्तिम आठ ओभरमा खेल गुमाउन पुग्यो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाएपनि जित भने दिलाउन सकेनन् । इमाद वासिमले १५ रन बनाए भने बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए ।
भारतको जितमा जस्प्रित बुम्राहले ३ तथा हार्दिक पन्ड्याले २ विकेट लिए । अर्श्दिप सिंह र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै १ सय १९ रन जोडेको थियो ।
भारतका लागि रिशभ पन्तले ३१ बलमा ६ चौका सहित सर्वाधिक ४२ रन बनाएका थिए । यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेका थिएनन् ।
प्रतिक्रिया