शान्ति सेनामा जाने सैनिक टाेलीलार्इ प्रि-डिप्लोयमेण्ट तालिम, राष्ट्रपतिकाे यस्ताे सन्देश

शान्ति सेनामा जाने सैनिक टाेलीलार्इ प्रि-डिप्लोयमेण्ट तालिम, राष्ट्रपतिकाे यस्ताे सन्देश


काठमाडाैं– संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ  लेवनानमा तैनाथ हुन जाने रणशार्दुल गण  ६० औं डफ्फाको पाँचखालस्थित  वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भएको प्रि-डिप्लोयमेण्ट तालिमको समापन भएकाे छ।

  उक्त तालिमकाे  रथी हेमन्तराज कुँवरले समापन गरेका हुन्।   रथी  कुँवरले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकाे शुभकामना सन्देश समेत पढेर सुनाए।

उक्त सन्देशमा, नेपाली सेनाले विगत ६० वर्षदेखि संयुक्त राष्ट्रसंघको अाह्नवानमा शान्ति स्थापना कार्यको लागि नेपाल सरकारको विश्व शान्ति प्रयासप्रतिको निष्ठा र प्रतिबद्धता बमोजिम नेपाली सेनाले दिएको योगदान उदाहरणीय रहेको उल्लेख गरिएकाे छ।

साथै कार्यक्षेत्रमा शान्ति सैनिकले आफूलाई एक योग्य शान्ति सैनिकको रुपमा परिचित गराई आफ्नो पेशागत दक्षता र कुशलता, मानव अधिकारको उच्च सम्मान तथा मानवीय सहयोगको भावना राखी विश्व शान्तिप्रति नेपालको गहिरो प्रतिबद्धताको सन्देश संसारमा फैलाउने कार्यमा नेपाली सेना सफल हुनेमा पूर्ण विश्वास लिएको समेत राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ।

 रथी  कुँवरले प्रि-डिप्लोयमेण्ट तालिममा हासिल गरेको ज्ञान र सैनिक कौशललाई मिशन इलाकामा आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए। साथै कार्य सम्पादनको दौरान एक-अर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्न समेत निर्देशन दिदै अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापाको मुख्य जिम्मेवारी उत्कृष्ट ढंगबाट बहन हुने विश्वास व्यक्त गरे।

मिशनमा खटिन लागेका गणपतिले मिशनको बारेमा प्रस्तुतीकरण गरेका थिए, भने रथी  कुँवरले मिशनमा तैनाथ हुन जाने गणले प्रदर्शन गरेको विभिन्न अभ्यास तथा प्रदर्शनीहरुको समेत अवलोकन गरेका  थिए।