जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित


जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरधाममा सोमबारदेखि जारी पार्टीको ३ दिने प्रथम एकता महाधिवेशनअन्तर्गत बुधबार अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष यादवले १८ वर्षदेखि विभिन्न पार्टीको नेतृत्व गर्दै आएका छन् । सुरुमा मधेशी जनअधिकार फोरम नेपाल गठन भएर पार्टीको नाम परिवर्तन हुँदै आएको छ ।

पार्टीको सहअध्यक्षका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङ छन् । उपाध्यक्ष पदमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दिएका छन् ।

महासचिवमा मनिष सुमन, रामकुमार शर्मा, दीपक कार्की र विजय यादवले उम्मेदवारी दिएका छन् ।

जसपाको विधानअनुसार १ जना अध्यक्ष, १ जना सहअध्यक्ष, महिलासहित ५ जना उपाध्यक्ष, २ जना महासचिव र महिलासहित ३ जना उपमहासचिव निर्वाचित हुने प्रावधान छ । महिला २ जनासहित ७ सचिव, १ कोषाध्यक्ष हुनेछन् ।