कुवेतमा मजदुर बस्ने भवनमा भएको आगलागीमा तीन नेपाली घाइते

कुवेतमा मजदुर बस्ने भवनमा भएको आगलागीमा तीन नेपाली घाइते


काठमाण्डु – कुवेतमा मजदुरहरू बस्ने ६ तल्ले घरमा भएको आगलागीमा तीन नेपाली घाइते भएका छन् । कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले तीन नेपाली घाइते भएको जानकारी दिएका हुन् ।

त्यो भवनमा ५ नेपाली बसिरहेको र ती मध्य तीन जना घाइते भएको राजदूत लम्सालले बिबिसीलाई जानकारी दिएका छन् । घाइतेहरूको नाम भने खुलाइएको छैन । नेपाली दुई जना सुरक्षित रहेको बिबिसीले उल्लेख गरेको छ ।

आगलागीमा परेर मृत्यु भएका ४९ जनामध्ये ४० जना भारतीय रहेको बिबिसीले समाचारमा उललेख गरेको छ ।

बुधबार बिहान मन्गाफ जिल्लामा मजदुरहरूको आवासीय भवनमा आगलागी हुँदा मृत्यु भएका ४० जना भारतको केरल र तामिलनाडुका रहेको पनि खुलेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा परेका आफ्ना नागरिकहरूको अवस्था बुझ्न विदेश राज्यमन्त्री कीर्तिवर्द्धन सिंहलाई कुवेत पठाएका छन्। बुधबार नै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकको परिवारलाई २/२ लाख रूपैयाँ दिने निर्णय गरेको छ।

घाइतेहरूको पाँच अस्पतालमा उपचार भइरहेको छ भने, भवनका मालिकलाई त्यहाँको प्रहरीले पक्राउ गरिसेकेको छ।