उदयपुर सिमेन्ट कारखानाको भ्रष्टाचार मुद्दामा सबै आरोपीलाई अदालतबाट सफाइ

उदयपुर सिमेन्ट कारखानाको भ्रष्टाचार मुद्दामा सबै आरोपीलाई अदालतबाट सफाइ


काठमाण्डु – विशेष अदालत काठमाण्डुले उदयपुर सिमेन्ट कारखानामा सामान खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपीलाई सफाइ दिएको छ ।

अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार बिहीबार न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा दाबी पुग्ने फैसला गरेको छ ।

गत माघ १० गते तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा) धुव्रबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलेलाई विपक्षी बनाएर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगले कर्मचारीहरूको मिलोमतोमा आवश्यकताभन्दा बढी सामान खरिद गरेर उद्योगलाई घाटा पुर्‍याएको, उद्योगका लागि भेरिएवल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा विना अध्ययन, आवश्यकताको पहिचान र औचित्य समेत यकिन नगरी लागत अनुमान समेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको आरोप लगाएको छ ।