प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री सदनबाट भाग्न खोजेको कांग्रेसको आरोप

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री सदनबाट भाग्न खोजेको कांग्रेसको आरोप


काठमाण्डु- नेपाली कांग्रेसले वर्तमान सरकारले संसदीय गरिमा र मर्यादा जोगाउन नसकेको टिप्पणी गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले सरकारले नै संसदीय गरिमा र मर्यादा भंग गरेको आरोप लगाए ।

भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणबारे सदनमा जानकारी नगराएको भन्दै आपत्ति जनाए । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा संसद अनभिज्ञ हुनुपर्ने स्थिति आउनु लाजमर्दो भएको उनको भनाइ छ ।

कांग्रेस प्रमुख सचेतक लेखकले राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणबारे पनि संसद् अनभित्र भएको बताए । उनले भने, ‘राष्ट्रपति रामचन्द्र पौडेल मुलुक बाहिर जानुभयो । मलाई अचम्म लागेको छ, कार्यकारी प्रमुख प्रधानमन्त्री बाहिर जानुहुन्छ, राष्ट्रपति बाहिर जानु भएको छ । उहाँहरू मुलुक बाहिर गएको कुरा खबर पढेर थाहा पाउनु परेको छ । सरकारका कारणले संसद्को न्यूनतम गरिमा र मर्यादा कायम हुन सकेको छैन । यसप्रति खेद प्रकट गर्न चाहन्छौं ।’ उनले कांग्रेसले उठाएका विषयमा सरकारका तर्फबाट जानकारी गराउनका लागि रुलिङ गर्न माग गरे ।

नेता लेखकले केही दिनयता प्रधानमन्त्री सदनमा नदेखेको भन्दै प्रधानमन्त्री अनुपस्थितीबारे सभामुखमार्फत जानकारी पनि माग गरे । संसदमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षीका सांसदमाथि दिएको अभिव्यक्तिको जवाफ पनि प्रधानमन्त्रीले दिन नचाहेको उनको आरोप छ । उनले त्यसको जवाफ दिनुपर्छ भनेर प्रधानमन्त्री सदनबाट भाग्न खोजेको हो कि भन्ने आफूलाई लागेको बताए ।