काठमाण्डु – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘डि’मा रहेको नेपालले आफ्नो तेस्रो खेल बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार शनिबार बिहान सवा ५ बजे सुरु हुँदैछ ।
श्रीलंकासँग वर्षाका कारण खेल रद्द भएपछि अंक बाँडेको नेपालको अहिलेसम्मको अवस्थामा सुपर-८ मा पुग्ने सम्भावना जीवितै छ । अब आफ्ना दुई खेलमा राम्रो प्रदर्शन गरे नेपाल सुपर-८ को यात्रा तय गर्न सक्छ । समूहका शीर्ष दुई टोली दक्षिण अफ्रिका र बंगलादेशसँगको प्रदर्शनले नेपालको यो विश्वकप यात्राको भावी दिशा निर्धारण गर्ने छ ।
नेपाल सुपर–८मा पुग्न बगलादेश र दक्षिण अफ्रिकालाई हराउन पर्छ । ‘ग्रुप अफ डेथ’ भनिएको समूह ‘डी’ को अहिलेको अंक तालिकाअनुसार दक्षिण अफ्रिका र बंगलादेश बाहेक सबै टिमको अवस्था कमजोर छ । हालसम्म ३ खेल खेलेको दक्षिण अफ्रिकाले ३ वटै खेलमा जित निकाल्दै ६ अंकका साथ समूहको शीर्ष स्थानमा रहँदै सुपर–८ मा पुगिसकेको छ ।
यस्तै तीन खेलमा दुई जित निकाल्दै ४ अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । सुपर–८ प्रवेशको सम्भावनालाई बलियो बनाएको बंगलादेशले अब नेपालसँग मात्रै खेल्न बाँकी छ । नेपाल दक्षिण अफ्रिकासँग पराजित भएमा बंगलादेश सुपर-८ मा प्रवेश गर्नेछ । किनकि तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको तीन खेलबाट २ अंक छ । नेदरल्यान्ड्सले अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ भने बंगलादेशले नेपालसँग खेल्ने छ ।
वर्षाका कारण प्रभावित भएको खेलमा श्रीलंकासँग अंक बाँडेको नेपाल १ अंकका साथ तालिकाको चौथो स्थानमा छ । टेस्ट राष्ट्र श्रीलंकाभन्दा नेपाल एक स्थानमाथि छ ।
दक्षिण अफ्रिकाले नेपालविरुद्ध तीव्र गतिको आक्रमण गर्न रणनीति लिन सक्ने सम्भावना बढी देखिन्छ ।
‘दक्षिण अफ्रिका उच्त स्तरको टोली हो । टोलीलाई हराउन एक–दुई खेलाडीहरुले मात्र राम्रो प्रदर्शन गरेर पुग्दैन । सम्पूर्ण टोली नै सगठित हुनु जरुरी छ । त्यसो गर्न सके हामीले दक्षिण अफ्रिकालाई हराउन सक्छौँ’ नेपालका कप्तान रोहित पौडेल भन्छन् ।
मैदानको अवस्था हेर्दा दक्षिण अफ्रिकासँगको खेलमा १६० रन जतिको लक्ष्य उपयुक्त हुन सक्ने र सन्दीप लामिछानेको उपस्थितिसँगै त्यति रन जोड्न सके प्रतिद्वन्द्वी टोलीका लागि त्यो चुनौती हुन सक्ने विश्वास कप्तान पौडेलको छ ।
अब सन्दीप लामिछानेसँगै अनुभवी स्पिनर ललितनारायण राजवंशीलाई दक्षिण अफ्रिका विरुद्धको खेलमा खेलाइने सम्भावना धेरै देखिएको छ । यसअघि सन्दीप लामिछानेसँग कतिपय दक्षिण अफ्रिकाका खेलाडीले खेलिसकेका छन् । अमेरिकाले भिसा नदिएपछि अघिल्ला दुई खेल खेल्न नपाएको सन्दीप वेस्टइन्डिजमा नेपालले खेल्ने बाँकी दुई खेल खेल्ने छन् ।
दक्षिण अफ्रिकामा विश्वस्तरीय ब्याटर रहेकोले स्पिन पिचमा अभिनाश बोहरालाई प्रशिक्षक मोन्टीले बेन्चमा राख्न सक्ने कतिपयको अनुमान छ ।
सन्दीपसँगै दक्षिण अफ्रिकाविरुद्धको खेलमा ललितनारायण राजवंशीले पनि प्लेइङ ११ मा पर्ने सम्भावना छ । स्पिन बलिङ अनुकूल मैदान रहेकाले पनि प्रमुख प्रशिक्षक मोन्टी देसाईले सन्दीपसँगै ललितलाई प्लेइङ सेटमा राख्न सक्नेछन् ।
प्रतिक्रिया