काठमाण्डु-संसारका सबैभन्दा धनी राष्ट्रहरूको समूह जी ७ (जी सेभन) ले रोक्कामा राखिएको रुसी सम्पत्तिबाट रुसी सेनासँग लड्न सघाउन युक्रेनलाई ५० अर्ब डलर उपलब्ध गराउने सहमति गरेको छ ।
सहमति भएपनि उक्त रकम तत्काल युक्रेनको हात पर्ने अपेक्षा गरिएको छैन । तर, यो निर्णयलाई रुसविरुद्ध लड्ने युक्रेनको प्रयास र देशको अर्थतन्त्रलाई भरथेग गर्न सघाउने दीर्घकालीन उपाय मानिएको छ ।
इटलीमा भइरहेको सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन र अमेरिकाबीचको १० वर्षे सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । त्यसलाई किएभले ऐतिहासिक भनेको छ ।
सम्झौताले युक्रेनले अमेरिकाको तर्फबाट सैन्य र तालिमसम्बन्धी सहयोग दिने प्रतिबद्धता जनाएको छ । तर त्यसमा वाशिङ्टनले युद्धका लागि सैनिक पठाउने वाचा गरेको छैन ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको हमला सुरु गरेयता जी सेभन र युरोपेली सङ्घसहितका निकायले रुसको ३२५ अर्ब डलर बराबरको सम्पत्ति रोक्का गरिदिएका छन् । उक्त सम्पत्तिको ब्याज नै प्रतिवर्ष तीन अर्ब डलर आउँछ ।
जी सेभनको योजनानुसार तीन अर्ब डलर युक्रेनका लागि अन्तर्राष्ट्रिय बजारबाट लिइएको ५० अर्ब डलरको ऋणको ब्याज चुक्ता गर्न प्रयोग गरिने छ ।
दक्षिण इटलीस्थित सम्मेलनस्थलमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडनले ५० अर्ब डलर ऋणले युक्रेनलाई अघि बढ्न सहयोग पुग्ने र रुसी राष्ट्रपति पुटिनलाई आफूहरू पछि नहट्ने सन्देश दिने बताए ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका र अरू साझेदारहरूलाई निरन्तरको सहयोगका लागि धन्यवाद दिए । जीसेभनमा आबद्ध धनी राष्ट्रहरूले युक्रेनी भूभागलाई अतिक्रमण गर्ने रुसी सेनाविरुद्धको लडाइँमा किएभलाई आर्थिक र सैन्य सहयोग उपलब्ध गराउँदै आएका छन् । उक्त समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिका छन् ।
युक्रेनले अहिले तत्कालै आफूलाई थप अस्त्र चाहिएको बताउने गरेको छ । रुसको क्षेप्यास्त्र र ड्रोन हमलाको प्रतिकार गर्न मुख्यतः हवाई प्रतिरक्षा क्षमतासँग जोडिएका अस्त्र उसले मागेको छ ।
युक्रेनले थप एफ–१६ लडाकु जेट विमानहरू यसै वर्षको गर्मीयाममा प्राप्त गर्ने अपेक्षा गरेको छ ।
रोक्का गरिएका रुसको केन्द्रीय ब्याङ्कका अधिकांश सम्पत्ति बेल्जियममा छ । अन्तर्राष्ट्रिय कानुनअनुसार देशहरूले रुसको त्यो सम्पत्ति जफत गरेर युक्रेनलाई दिन सक्दैनन् ।
प्रतिक्रिया