काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसूस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले कार्यालयमा रहेको सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै काम र अवस्थाबारे जानकारी लिए ।
निरीक्षणपश्चा्त आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका बाबजुद ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको र ती समस्याहरू समाधान गर्न गृह मन्त्रालय कटिवद्ध रहेको बताए । युनिफर्म लगाएको प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्ने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भने, ‘युनिफर्म लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो । यसको लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’
ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले भने, ‘ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले चेकिङलाई अझ प्रभावकारी बनाई लापसे, मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोस् ।’
फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवं बालबालिकालाई विशेष ध्यान दिएर ट्राफिक प्रहरीले उत्कृष्ट रूपमा कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए । प्रतिकूल अवस्थाका बाबजुद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनका लागि गृह मन्त्रालय सदैव क्रियाशील रहेको उनले बताए ।
कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले ट्राफिकले भोग्नुपरेको समास्या निराकरणको लागि मन्त्रालय सदैव कटिवद्ध रहेको बताउँदै ट्राफिक प्रहरीले सडकमा खटिँदा घाम–पानी नभनी विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकोमा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने बताए । ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगले दुर्घटना न्युनीकरण र मानवीय क्षति कम गर्न सहयोग पुग्ने हुँदा ट्राफिक प्रहरीलाई प्राविधिक रूपमा सुसम्पन्न गर्नुपर्ने धारणा उनले राखे ।
ट्राफिक व्यवस्थापनमा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी सेवा प्रवाह गर्न उनले निर्देशन दिए ।
काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको काम कारबाही, जनशक्ति परिचालन, ट्राफिक व्यवस्थापनका लागि चालिएका कदमहरू, दुर्घटनाको अवस्था, दुर्घटना न्युनीकरणका लागि चालिएका कदमहरू, सेवा प्रवाहका क्रममा भोग्नुपरेका समस्याहरू र सुधार गर्नुपर्ने पक्षहरूको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराई, वरिष्ठ प्रहरी अधिकृतहरू, उपत्यकास्थित ट्राफिक प्रहरी युनिटका कार्यालय प्रमुखहरू लगायत प्रहरी अधिकृत एवं जवानहरूको उपस्थिति थियो ।
प्रतिक्रिया