काठमाण्डु-नेकपा एमालेको ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । एमालेले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ११ जिल्लामा हुन बाँकी रहेको हो । एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सकिएको जानकारी दिए ।
अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने उनले बताए ।
उनका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेस प्रदेशको सिरहा, सप्तरी र धनुषा, गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको यनले बताए ।
अहिलेसम्म अधिवेशन भएका ६६ मध्ये ५५ जिल्लामा प्रत्यक्ष निर्वाचन भएको हो भने ११ जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । एमालेकाअनुसार अर्घाखाँची, रूपन्देही, दाङ, रामेछाप, रसुवा, झापा, रुकुम पूर्व, रुकुम पश्चिम, कञ्चनपुर, डडेलधुरा र मुगुमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
त्यस्तै मजदुर विशेष जिल्ला कमिटीमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । एमालेले गएको फागुनदेखि जिल्ला अधिवेशन शुरु गरेको थियो ।
प्रतिक्रिया