नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई अध्यक्ष ढकालकाे आह्वान

नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई अध्यक्ष ढकालकाे आह्वान


काठमाण्डु- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन्।

नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका असमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएकाले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका हुन्।

‘गत महिना आयोजना भएको लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ। नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ। यी सबै सम्भावनालाई अवसरको रूपमा लिँदै नेपालमा लगानी गर्नुस् र यथोचित मुनाफा आर्जन गर्नुस्,’, उनले भने ।

अध्यक्ष ढकालले नेपाल सरकारले हालै आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट वक्तव्यमा १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनी स्थापना गर्ने र नेपालमा विभिन्न सम्भावित आयोजनाहरूमा लगानी गर्ने विषय समावेश गरेको उल्लेख गर्दै यसलाई अवसरको रुपमा लिन र नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआइ डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोमबहादुर मिश्रले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने समेत बताएका छन् ।