काठमाण्डु – आईसीसी टी–२० विश्वकपको सुपर ८ समीकरण पूरा भएको छ। सोमबार बिहान बंगलादेशले नेपाललाई पराजित गरेसँगै सुपर ८ चरण पूरा भएको हो ।
बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो ।
विश्वकपको सुपर ८ पुग्ने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। २० जुनबाट सुरु हुने सुपर ८ मा रहेका दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। । सेमिफाइनल खेल २७ जुनमा र फाइनल खेल जुन २९ मा हुने कार्यतालिका आईसीसीले सार्वजनिक गरिसकेको छ ।
सुपर ८ को ग्रुप ए मा समूह ए र सी को विजेता तथा समूह बी र डी को उपविजेता टोली राखिएको छ भने ग्रुप बी मा समूह ए र सी को उपविजेता तथा समूह बी र डी को विजेता टोली छन्।
सुपर ८ को समूह ए मा भारत, अफगानिस्तान, अस्ट्रेलिया र बंगलादेश छन्। समूह बी मा आयोजक वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकासँगै दक्षिण अफ्रिका र इङल्यान्ड छन्।
समूह चरणको समूह ए बाट ३ खेलमा जित र एक खेलमा वर्षाका कारण अकं बाँडेपछि ७ अंकसहित भारत शीर्ष स्थानमा रहेर तथा अमेरिका २ खेलमा जित एक खेलमा हार र १ खेलमा अंक बाँड्दै ५ अंकसहित दोस्रो स्थानमा रहेर सुपर ८ मा पुगेको हो।
यो समूहबाट पाकिस्तान, क्यानडा र आयरल्यान्ड बाहिरिए ।
समूह बी बाट अपराजित रहेको अस्ट्रेलिया ४ खेलमा ८ अंक जोड्दै शीर्ष र इंल्यान्ड २ खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँड्दै ५ अंकमा दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो। समूहबाट स्कटल्यान्ड, नामिबिया र ओमान बाहिरिए।
समूह चरणका एक खेल खेल्न बाँकी रहेका अफगानिस्तान र वेस्ट इन्डिज पनि सुपर ८ मा पुगिसकेका छन्। तीन खेल खेल्दा समूह सी मा अफगानिस्तान र वेस्ट इन्डिज दुवै टोली अपराजित छन्। यो समूहबाट न्यु जिल्यान्ड, युगान्डा र पपुवा न्यु गिनी बाहिरिए।
नेपाल रहेको समूह डी बाट दक्षिण अफ्रिका अपराजित रहँदै ८ अंकसहित शीर्ष स्थानमा रहेर र तीन खेलमा जित र १ खेलमा पराजित बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा रहेर सुपर ८ मा पुगे । यो समूहबाट नेपाल, नेदरल्यान्ड्स र श्रीलंका बाहिरिए।
नवौँ संस्करणको विश्वकपका सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको थियो। सहभागी २० टोलीमध्य आयरल्यान्ड, ओमान, पपुवा न्यु गिनी, नेपाल र श्रीलंकाले मात्र जितको स्वाद लिन पाएनन्। चार समूहबाट एक टोलीले जित निकाल्न नसक्दा नेपाल रहेको समूहबाट भने दुई टोलीले जित हात पार्न सकेनन्।
विश्वकपको नवौँ संस्करणसम्म आइपुग्दा सात टोलीले विश्वकपको उपाधि जितेका छन्। वेस्ट इन्डिज र इङ्ल्याण्डले समान दुई पटक विश्वकपको उपाधि उचालेका छन्।
प्रतिक्रिया