यमपञ्चक सुरु, आज काग तिहार

यमपञ्चक सुरु, आज काग तिहार


काठमाडौं – प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज सोमबारबाट शुरु भएको छ । यमपञ्चक पनि भनिने तिहारको पहिलो दिन आज कागको पूजा गरी मनाइँदै छ ।

 कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूत र प्रकृतिको कुचिकार पनि भनिन्छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ । आजै बेलुकादेखि घरघरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ ।

यमपञ्चक अन्तर्गत भोलि कुकुर तिहार, पर्सी औँसीका दिन लक्ष्मीपूजा, कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्हपूजा एव‌ं कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ।