काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबारदेखि सुपर–८ का खेल सुरु हुँदैछन् । सुपर–८ को पहिलो प्रतिस्पर्धा दक्षिण अफ्रिका र अमेरिकाबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार बुधबार साँझ सवा ८ बजे सुरु हुनेछ ।
दक्षिण अफ्रिका समूह चरणका आठ खेलमा अपराजित रहँदै सुपर–८ मा पुगेको हो । समूह चरणमा चार जित निकाल्दै समूह ‘डी’को विजेता बनेको दक्षिण अफ्रिकालाई विश्वकपको दाबेदार टिम मानिन्छ ।
समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि चार विकेटको जित निकालेको थियो । तेस्रो खेलमा बंगलादेशमाथि ४ रनले विजयी भएको दक्षिण अफ्रिका नेपालसँगको सनसनीपूर्ण चौथो खेलमा १ रनले विजयी भएको थियो ।
समूह ‘ए’मा रहेको अमेरिका भने समूह चरणका दुई खेलमा जित, एक खेलमा अंक बाँडेको थियो । अमेरिका एक खेलमा हारसहित समूहको उपविजेता बन्दै सुपर–८ पुगेको हो ।
पहिलो खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित निकालेको अमेरिकाले दोस्रो खेलमा पाकिस्तानसँग सुपर ओभर खेलेको थियो । पाकिस्तानसँग सुपर ओभरमा विजयी भएको अमेरिका तेस्रो खेलमा भारतसँग ७ विकेटले पराजित भयो । चौथो खेलमा भने भारतले
आयरल्यान्डसँग अंक बाँडेको हो । अमेरिका पाँच अंक जोड्दै समूहको उपविजेता बनेर सुपर–८ मा पुगेको हो ।
सुपर–८ मा खेल्ने आठ टोलीको टुङ्गो यसअघि नै लागिसकेको छ । यी आठ टोली मध्ये समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बङ्गलादेश छन् । समूह २ मा दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज र इङ्गल्यान्ड छन् । दुई समूहमा विभाजन गरिएका यी आठ टोली मध्ये दुवै समूहबाट शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
प्रतिक्रिया