ओलम्पियन लामाको प्रतिमा स्थापना गरिने

ओलम्पियन लामाको प्रतिमा स्थापना गरिने


काठमाडौं-नेपाली खेलकूदमा ऐतिहासिक सफलता प्राप्त गर्नुभएका ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ ।

आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा ओलम्पियन लामाको आगामी ६ महिनाभित्र मूर्ति स्थापना गरिने जानकारी गराइयो ।

नेपाल तामाङ घेदुङ सङ्घले लामाको मूर्ति निर्माणका लागि समिति बनाएर कार्य योजना छिट्टै तयार गर्ने जनाएको छ । समितिका संयोजक डिएन घिसिङ तीन दशक अगाडि नेपालको नाम र इज्जत विश्वभर फैलाउन सफल लामाको प्रतिमा स्थापना गर्न लागिएको बताउँछन्। लामाको मूर्ति काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित उनकै जन्मथलोमा बनाइने छ ।

लामाले सन् १९८४ देखि १९९० सम्म राष्ट्रिय टिमबाट तेक्वान्दो खेल्दै आएका छन्। उनले सन् १९८६ मा पहिलो पटक १०औँ एशियाली खेलमा नेपालको तर्फबाट कास्य पदक तथा सन् १९८७ मा स्पेनमा भएको ८औँ विश्व तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जिते। लामा सन् १९८८ को आठौँ एशियन च्याम्पियनसिपमा रजत पदक जित्न सफल भएका थिए।

त्यसैगरी दक्षिण कोरियाको सोलमा सम्पन्न २४औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा लामाले कास्य पदक जितेका थिए । पत्रकार सम्मेलनमा आफ्नो खेल जीवनबारे स्मरण गर्दै लामाले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।