नेपाली कप्तानसँग विवाद गर्ने बंगलादेशी खेलाडीमाथि कारबाही

नेपाली कप्तानसँग विवाद गर्ने बंगलादेशी खेलाडीमाथि कारबाही


काठमाण्डु-बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिब कारबाहीमा परेका छन् ।

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले आइतबार नेपालसँग भएको खेलमा क्रिकेट आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई म्याच शुल्कको १५ प्रतिशत रकम जरिवाना तोकेको छ ।

बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको तेस्रो पारी चलिरहँदा उनले नेपाली कप्तान रोहित पौडेलसँग विवाद गरेका थिए । कप्तान पौडेल ब्याटिङ्गका लागि मैदानमा आएपछि तान्जिमले पौडेलसँग मिडपिच कुराकानी गरेका थिए भने तान्जिमले रोहितलाई धक्का समेत दिएका थिए ।

तान्जिमले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूका लागि आईसीसी आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको आईसिसीले जनाएको छ । आईसिसीका अनुसार खेलाडी, खेलाडी समर्थन कर्मचारी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्तिसँग अनुपयुक्त शारीरिक सम्पर्कसँग सम्बन्धित हुनु नियम विपरित हो ।

थर्ड अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनासहित मैदानी अम्पायर अहसान रजा र साम नोगाज्स्कीले पनि उक्त घटनाबारे आईसिसीलाई जानकारी गराएका थिए ।

खेल सकिएपछि यो घटनाका बारेमा कप्तान रोहित पौडेललाई प्रश्न गरिएको थियो । जवाफमा पौडेलले तान्जिमले आफूलाई उक्साउँदै ‘हिट मी’ भनेको र आफूले उनलाई ‘बल मी’ भन्ने जवाफ फर्काएको जानकारी दिएका थिए ।

तान्जिमले पनि आफूले गल्ती गरेको स्वीकारे पनि थप सुनुवाई नगर्दै आईसिसीले उनलाई कारबाही गरेको हो । आइतवारको खेलमा बङ्गलादेशले नेपाललाई २१ रनले पराजित गर्दै सुपर ८ को यात्रा गरेको हो ।