काठमाण्डु – धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त दिएका तीन उम्मेदरवार बुधबार पनि कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको समयमा अनुपस्थित भएपछि प्रक्रिया रद्द गर्ने तयारी भएको छ । बिहान ९ बजे बोलाइएको अन्तर्वार्तामा तीनै जना अनुपस्थित भएपछि प्रक्रिया रद्द गर्नका लागि आन्तरिक छलफल भइरहेको निकटस्थ स्रोतले जानकारी दियो ।
अध्यक्ष नियुक्ति सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाएको थियो । आइतबार २ जना मात्रै उपस्थित भएपछि अनुपस्थित बाँकी ३ जनालाई बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं आइतबार अनुपस्थित भएका थिए । उनीहरू बुधबार पनि उपस्थित भएनन् ।
सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका दिएका थिए ।
दुई पटक बोलाएको समयमा अनुपस्थित भएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी भएको स्रोतले बतायो । सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’ भन्ने वाक्यांश उल्लेख छ । पाँचमध्ये तीन जना अन्तरवार्तामा नै उपस्थित नभएपछि उपस्थित भएका दुईजनाको मात्रै नाम सिफारिस गर्न यो कानुन ऐन अनुसार मिल्दैन । जसकारण कानूनी रुपमा सिफारिस प्रक्रिया नै रद्द हुने अवस्था आएको हो ।
प्रतिक्रिया