केन विलियम्सनले छोडे न्युजील्यान्डको कप्तानी

केन विलियम्सनले छोडे न्युजील्यान्डको कप्तानी


काठमाण्डु- न्युजील्यान्डले जारी टी-२० विश्वकपको सुपर–८ खेल्न नसकेपछि केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएका छन् र केन्द्रीय सम्झौता पनि अस्वीकार गरेका छन् । उनको यो निर्णयले सबैलाई चकित बनाएको छ । यस्तो अवस्थामा उनले छिट्टै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भन्ने प्रश्न उठिरहेको छ ।

केनले यस अघि नै टेस्ट टिमको कप्तानी छोडिसकेका छन् । केन बाहेक लुकी फर्गुसनले पनि न्यूजील्याण्ड क्रिकेट बोर्डबाट केन्द्रीय सम्झौता लिन अस्वीकार गरेका छन् ।

न्यूजील्याण्ड क्रिकेट बोर्डले आफ्नो आधिकारिक वेबसाइट मार्फत यो जानकारी दिएको हो । केनले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय लिएको बताइएको छ । न्यूजील्याण्डका लागि ३५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका केनको यो निर्णय २०२४ को टी–२० विश्वकपमा निराशाजनक प्रदर्शनपछि आएको हो । किवी टोली समूह चरणमा वेस्ट इन्डिज र अफगानिस्तानसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

केनले आफुले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय गरेको बताए । उनले आगामी दिनमा पनि केन्द्रीय सम्झौता स्वीकार गर्न आफू तयार रहेको बताए । केनले यस समयमा आफू आफ्नो परिवारसँग बढी समय बिताउन चाहेको बताए ।

उनले भनेका छन्- ‘न्युजील्यान्डका लागि खेल्न पाउनु एउटा सौभाग्यको कुरा हो र टोलीका लागि राम्रो प्रदर्शन गर्नु सधैं मेरो प्राथमिकतामा रहेको छ । तर, क्रिकेटभन्दा बाहिर मेरो जीवनमा परिवर्तन ल्याउनु भनेको मेरो परिवारसँग धेरै समय बिताउनु र उनीहरूसँग स्वदेश तथा विदेशमा अनुभवको आनन्द लिनु हो ।’