काठमाण्डु- क्रोएसिया र अल्बानियाबीचको खेल २-२ गोलको बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा इन्जुरी समयमा गोल खाँदै क्रोएसिया युरो २०२४ मा बराबरी खेल्न बाध्य बनेको हो ।
पहिलो खेलमा स्पेनसँग ३-० ले स्तब्ध बनेको क्रोएसिया अल्बानियासँग ११ औँ मिनेटमा नै पछि परेको थियो । क्वाजिम लासीले अल्बानियाका लागि गोल गरे ।
अर्को पराजयतर्फ अघि बढिरहँदा ७४ औँ मिनेटमा आन्द्रेज क्रामारिचले बराबरी गोल फर्काए । २ मिनेटपछि टोलीले आत्मघाती गोल उपहार पायो । क्लाउस जासुलाले आफ्नै पोस्टमा गोल गरेपछि क्राएसियाले खेलमा अग्रता लियो ।
खेलको अन्त्यतिर लुका मोड्रिचले टोलीको अग्रता फराकिलो बनाउने अवसर पाएका थिए । तर, उनको प्रहार देब्रे पोस्ट नजिकबाट बाहिरिएको थियो । इन्जुरी समयमा आफूले यसअघि गरेको गल्तीको पूर्ति गर्दै जासुलाले ९५ औँ मिनेटमा अल्बानियाका लागि बराबरी गोल फर्काए ।
प्रतिक्रिया