गण्डकीमा बजेटको हिसाब नमिलेपछि प्रदेशसभामा खैलाबैला

गण्डकीमा बजेटको हिसाब नमिलेपछि प्रदेशसभामा खैलाबैला


पोखरा – गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नै नमिलेको पाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिसाव नमिलेको तथ्यांक प्रदेशसभामा प्रस्तुत गरेपछि खैलाबैला मच्चिएको हो । कसरी बजेटमा हिसाव मिलेन भन्दै एमालेले जवाफ मागेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अर्थमन्त्री डा. टकराज गुरुङको आग्रहमा सभामुख कृष्ण धितालले प्रदेशसभा स्थगित गरेका छन् ।

एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले बजेटमा प्रस्तुत गरिएको अंकको हिसाबकिताब नै गल्ती भएको भन्दै त्यसको जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताएका थिए ।

एक असारमा अर्थमन्त्री डा. गुरुङले ल्याएको बजेटको राजस्व र व्ययको वार्षिक अनुमाथि सामान्य छलफलको क्रममा एमाले उपनेता थापाले सरकारको हिसाब नमिलेको भन्दै प्रश्न उठाएका थिए ।

आर्थिक वर्ष २०८१/२०८२ लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट प्रस्तुत गरिएको थियो । त्यसमा प्राप्त हुने रकम १२ अर्ब ५८ करोड ५४ लाख, राजस्व बाँडफाँडबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँडबाट ४८ करोड १०, आन्तरिक राजस्वतर्फबाट ५ अर्ब १७ करोड र आन्तरिक ऋणबाट १ अर्ब ७० करोड स्रोत उल्लेख गरिएको छ ।

बजेटमा २०८०/०८१ को बजेट कार्यान्वयन पश्चात २ अर्ब ९४ करोड रुपैयाँ मौज्दात रहने भनिएको तथ्यांक नमिलेको भन्दै एमाले संसदीय दलका उपनेता थापाले संसदमा सरकारको जवाफ मागे थिए । ‘९६ करोड १९ लाख ७५ हजार रुपैयाँको हिसाबै पुगेन । यसलाई हामीले कसरी लिने हो ?’ थापाले भनेका थिए ।

चालु आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरणमा ३३ अर्ब ४२ करोड ७२ लाख बजेट विनियोजन गरिएकोमा वैशाख मसान्तसम्म १३ अर्ब २९ करोड २१ लाख ५९ हजार खर्च भएको लेखिएको बताउँदै थापाले सोही पुस्तकको वैशाख मसान्तसम्मको अवधिमा १२ अर्ब ३७ करोड ४ लाख १६ हजार रुपैयाँ लेखिएको उल्लेख गरे । ७ करोड ८२ लाख ५२ हजार रुपैयाँ यसमा कहाँ गयो ? भन्ने प्रश्न थापाको थियो । याृे लगायत विभिन्न विषयमा हिसाव नमिलेको तथ्यांक थापाले प्रस्तुत गरेका थिए ।

थापाले तथ्यांक राखेलगत्तै एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले समय मागेर बजेटको अंकसँग जोडिएको विषय राखेको र सरकारको धारणा माग गर्ने बताए । नेपालीले सभामुखबाट रुलिङको माग गरे । सभामुख कृष्णप्रसादले सरकारको तयारीबारे सोधेका थिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अर्थमन्त्री डा। टकराज गुरुङले छलफल गरेर संसद स्थागित गर्न भनेपछि सभामुख धितालले १० मिनेटका लागि संसद स्थगित गरेका थिए ।