धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बनाउने सहमति

धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बनाउने सहमति


काठमाण्डु – धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई बनाउने सहमति सत्तारुढ मुख्य दलहरूबीच भएको छ ।

बिहिबार बसेको प्रमुख सत्ता घटक दल एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीचको छलफलमा बोर्डको अध्यक्ष सन्तोषनारायणलाई बनाउने सहमति बनेको निकटस्थ स्रोतले जानकारी दियो ।

गत पुसबाट रिक्त बोर्डको अध्यक्षमा सिफारिस गर्नका लागि योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी र प्राध्यापक उदय चलाउने सदस्य रहेको सिफारिस समिति बनाइएको थियो । समितिले योग्यता तोकेर अध्यक्षका लागि दरखास्त मागेको थियो ।

अध्यक्षका लागि दरखास्त दरखास्त दिएका मध्य ५ जनालाई सर्टलिष्टमा पार्दै गत आइतबार आफ्नो कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । बोलाइएको समयमा सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ता दिएका थिए ।

बाँकी तीन जना बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं तोकिएको समयमा अन्तर्वार्ताका लागि उपस्थित भएनन् ।

तीन जना उनुपस्थित भएपछि उउनीहरूलाई आफ्नो कार्यजोजना प्रस्तुती र अन्तर्वाताका लागि बुधबार बोलाइयो । त्यो समयमा पनि तीन जना अनुपस्थित भए ।

अध्यक्ष कसलाई बनाउने भन्नेमा सत्तारुढ दल, प्रधानमन्त्री र अर्थमन्त्रीबीच कुरा नमिलेपछि समस्या देखिएको हो । निकटस्थ स्रोतका अनुसार धितोपत्र बोर्डको अध्यक्ष कसलाई बनाउने भन्नेमा अर्थमन्त्री वर्षमान पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल फरक–फरक कित्तामा थिए ।

अर्थमन्त्री पुनले कार्की वा चापागाईँमध्य एक जनालाई बनाउन चाहेका थिए । उनको चाहनामा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र व्यवसायी उपेन्द्र महतोले साथ दिएका थिए ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भने कसलाई बनाउने भन्नेमा मतैक्यता थियो । दाहाल र ओली मुक्तिनारायण श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मध्य एक जनालाई बनाउने भन्नेमा थिए । दाहाल र ओलीको चाहनामा व्यवसायी दीपक भट्ट र शेखर गोल्छाले साथ दिएका थिए ।

अर्थमन्त्री र प्रधानमन्त्री फरक फरक व्यक्तिलाई बनाउने लबिङ्मा लागेपछि लामो समयबाट रोकिएको बोर्ड अध्यक्षको नियुक्ति शीर्ष तहमा सहमति गरेर टुंग्याइएको हो ।

निकटस्थ स्रोतले अर्को साता बस्ने मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्ष टुंग्याउने जानकारी दियो ।

सिफारिस समितिले बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद् बैठकमा कम्तीमा ३ जना अन्तर्वार्ता दिएका श्रेष्ठद्वय र डा. अधिकारीको नाम पठाउने तयारी छ ।

धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’ भन्ने वाक्यांश उल्लेख छ ।

निकटस्थ स्रोतले अर्थमन्त्री पुनलाई जानकारी गराएर तीन जना अन्तर्वार्तामा नगएका जानकारी प्रधानमन्त्री दाहालले थाहा पाएपछि अर्थमन्त्री पुनलाई बोलाएर आफूले भनेको नहुने भएपछि अन्तर्वार्तामा नआउन भन्ने भनेर झपारेको पनि बतायो । प्रधानमन्त्री दाहालले अर्थमन्त्री पुनलाई गठबन्धनलाई असर गर्नेगरी अन्तर्वार्तामा नआउन भनेको भन्दै रिसाएको पनि प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

सत्ता घटक सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिल्यै श्रेष्ठद्वयबाट एक जनालाई अध्यक्ष बनाउन प्रधानमन्त्रीलाई सु्झाएका थिए । तर, अर्थमन्त्रीले भने यी दुईलाई नबनाउन प्रक्रियालाई बाधा पुग्नेगरी सिफारिस समितिले अन्तर्वाताका लागि छानेका ५ जना मध्य तीन जनालाई वार्तामै उपस्थित नहुन निर्देशन दिएका थिए । त्यसबाट प्रधानमन्त्री अर्थमन्त्रीसँग असन्तुष्ट भएका थिए ।